Shittalpati
तानसेनमा जिल्लास्तरीय स्क्रयाबल च्याम्पियनशिप

पाल्पा, जिल्लामा पहिलो पटक जिल्लास्तरीय अंग्रेजी शब्द निर्माण खेल स्क्रयाबल प्रतियोगिता भएको छ । जिल्लाको तानसेन नगरपालिका– ३ मा रहेको पाल्पा आवासीय माध्यमिक विद्यालयमा प्रतियोगिता भएको हो । जिल्लाका विभिन्न विद्यालयका ८ जना विद्यार्थीहरुको सहभागितामा उक्त कार्यक्रम भएको जनाइएको छ ।

प्रतियोगितामा बेथल बोर्डिङ स्कूलका सगुन नेपाल प्रथम, सोही विद्यालयका आयुष परियार द्वितीय र पाल्पा आवासीयका श्रीजन पाण्डे तृतीय भएका छन् । जिल्ला प्रथम र द्वितीय भएका प्रतियोगी आउँदो असोज २८ देखि ३० गतेसम्म हुने राष्ट्रिय च्याम्पियनशिपमा खेल्ने स्क्रयाबल क्लब पाल्पाका संयोजक गोपाल प्रसाद बश्यालले बताए । अंग्रेजी अक्षरको टाइलबाट शब्द निर्माण गर्ने यो खेल २५—२५ मिनेटको समयअवधिमा जोडीमा प्रतिस्पर्धा गरिन्छ । प्रतियोगीहरूको जोडी परिवर्तन गरी २४ राउण्डमा खेलाउने अन्तर्राष्ट्रिय नियम रहेको भए ता पनि एक दिने जिल्लास्तर प्रतियोगितामा ४ राउण्ड मात्र खेलाइएको थियो । प्रतियोगीहरू स्वयम्ले समय पालना, कम्प्युटरबाट शब्द परीक्षण, स्कोरिङ अभिलेख राख्नुपर्ने र द्विपक्षीय सहमतिमा प्राप्तांक जम्मा गरिन्छ । सबै खेलको अंक हिसाब गरी खेलाडीको स्थान निर्धारण गरिन्छ ।

प्रतियोगिताको अन्तमा आयोजित पुरस्कार वितरण समारोहमा शिक्षा विकास तथा समन्वय इकाइ पाल्पाका शाखा अधिकृत हेम शर्मा रिजालले विजयी खेलाडीलाई पुरस्कृत गर्दै यस खेलबाट शब्द निर्माणको साथै सिर्जनात्मक र पुरावृत्तिजस्ता बौद्धिक विकासमा सहयोग पुग्ने भएकाले यस खेलको विस्तार गर्नु आवश्यक रहेको बताए । त्यसैगरी पाल्पा आवासीय विद्यालयका प्रिन्सिपल गोपाल पि. सी., विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केदारलाल श्रेष्ठ, पत्रकार यज्ञमूर्ति तिमिल्सीना, बेथल स्कूलका शिक्षक इना राना, र विद्यार्थी आयुष परियारले खेलको महत्वका बारेमा आ–आफ्ना धारणा राखेका थिए । स्क्याबल क्लबका जिल्ला संयोजक बश्यालको अध्यक्षता र इभेन्ट कोअर्डिनेटर क्षितिज नेपालको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: बुधबार, भदौ २५, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update