Shittalpati
बेवारिसे अवस्थामा महिलाको शव फेला

पाल्पा, जिल्लाको रम्भा गाउँपालिका–३, सीतापहाडमा सडक नजिकै खोल्सामा बेवारिसे अवस्थामा एक महिलाको शव फेला परेको छ । सिद्दार्थ राजमार्ग सडक नजिकै रहेको खोल्सामा ३५ वर्षीया महिलाको बेवारिसे अवस्थामा शव फेला परेको हो ।

मृतक महिलाको पहिचान हुन सकेको छैन् । उनको झाडीमा घोप्टो परेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक होम प्रकाश चौधरीले बताए । महिलाको हत्या भएको हो कि दुर्घटनामा परेकी हुन् भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक चौधरीले बताए । उनको निधारमा चोट लागेको छ ।

मृतक महिला तराई मूलको जस्तो देखिने प्रहरीले जनाएको छ । महिलाको हुलियामा गहुँगोरो वर्ण, उचाई ५ फिट एक इन्च, नीलो रङको कुर्ता, नीलो रङको सुरुवाल र रातो रङको चुन्नी लगाएको, दुवै हातमा १/१ वटा चुरा लगाएको, नाकमा नत्थी, बायाँ हातको नाडीमा पुतलीको ट्याटु र दुवै खुट्टामा विच्छु औंठी लगाएको देखिन्छ ।  शवको आफन्त खोजी कार्य र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति: बिहीबार, भदौ १९, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update