
गुल्मी, इलाका प्रशासन कार्यालय रिडीमा राख्न सरोकारवाला निकायहरु सहमत भएका छन् । गुल्मीको सुदुरपूर्वका नागरिकहरुका लागि इलाका प्रशासन कार्यालय राख्नुपर्ने माग हुँदै आए पनि लामो समयदेखि कहाँ राख्ने भन्ने विषयमै विवाद हुँदै आएको थियो । बुधबार रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीको अध्यक्षतामा रिडीमा बसेको सरोकारवालाहरुको बैंठकले रुरुक्षेत्र गाउँपालिका–१ रिडीमा इलाका प्रशासन कार्यालय राख्ने सर्वसम्मत निर्णय गरेको हो ।
बैंठकले कालीगण्डकी, सत्यवती, रुरुक्षेत्र, चन्द्रकोट, छत्रकोट र गुल्मी दरवार क्षेत्रलाई पायक पर्ने स्थान रिडी नै उपयुक्त रहेको भन्दै रुरु प्राथामिक स्वास्थ्य केन्द्रको भवनबाट इलाका प्रशासन कार्यालय सञ्चालनका लागि जिल्ला सुरक्षा समिति गुल्मीमा सिफारिस गर्ने निर्णय गरेको छ ।
रिडी बजार भूगोल, सेवा सुविधा र जनघनत्वका हिसावले अत्यन्तै महत्वपूूर्ण हुने रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले बताए । ज्ञवाली भन्छन् “इलाका प्रशासन स्थापनाको विषयलाई जिल्ला सुरक्षा समिति र सबै मिलेर अगाडि बढाउनु पर्ने अवस्था छ । किन कि भवन लगायतका संरचनाहरु सबै यही बनेका छन् । त्यो खर्च लाग्दैन् ।” जिल्लाकै पुरानो बजार , इलाका प्रहरी कार्यालय, १५ शैयाको अस्पताल, क्याम्पस, होटल तथा लजको सुविधा सहित सरकारी भवनबाटै इलाका प्रशासन कार्यालय सञ्चालन गर्न सकिने उनको भनाई छ ।
कालीगण्डकी, सत्यवती, रुरुक्षेत्र, चन्द्रकोट, छत्रकोट र गुल्मी दरवार क्षेत्रलाई पायक पर्ने गरी इलाका प्रशासन कार्यालय नहुँदा यहाँका हजारौं सर्वसाधारणले सास्ती खेप्नुपरेको छ । इलाका प्रशासन नहुँदा नागरिकता, राहदानी र अन्य सिफारिस बनाउन चारदेखि सात घण्टा लगाएर ८० किलोमिटर टाढा सदरमुकाम तम्घास धाउनुपर्ने बाध्यता यहाँका नागरिकलाई छ ।
संघीयताको मर्म र भावनाअनुरूप एकीकृत तथा विकेन्द्रीकृत सेवा प्रवाह गर्ने राज्यको नीति भए पनि स्थानीय तहमा रहने गरी इलाका प्रशासन कार्यालय नहुँदा जनताले सास्ती व्यहोर्नुपरेको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेदवहादुर थापाले बताए । उनले भने “राज्यले जनताका समस्याहरु समाधान गर्ने र सेवा दिने कार्यालय पायक पर्ने ठाउँमा हुनुपर्छ । इलाका प्रशासन कार्यालय स्थापना अनिवार्य छ भन्ने महशुस गरी हामीहरुले रुरुक्षेत्रको रिडी बजारमा राख्न उपयुक्त हुने गरी यस अघि नै सिफारिस गरेका थियौं ।” अध्यक्ष थापाले यो काम छिट्नै हुनुपर्ने बताए ।