Shittalpati
रामपुरले ल्यायो हिंसा विरुद्धको न्यायका लागि ‘सिफारिस प्रणाली कार्यविधि २०८२’

पाल्पा, महिला बालबालिका माथि हुने हिंसा विरुद्ध न्याय सम्बोधनका लागि रामपुर नगरपालिकाले ‘सिफारिस प्रणाली कार्यविधि–२०८२’ सार्वजनिक गरेको छ । घरेलु हिंसा प्रभावित महिला तथा बालबालिकालाई छिटो, छरितो र प्रभावकारी सेवा उपलब्ध गराउन महिला कानुन र विकास मञ्चको सहयोग र सारथी नेपाल पाल्पाको समन्वयमा तयार गरिएको कार्यविधि सार्वजनिक  गरिएको हो । 

सो कार्यविधिको राष्ट्रिय सभा सदस्य राजेन्द्र लक्ष्मी गैरेले सार्वजनिक गरेकी हुन् । कार्यविधि सार्वजनिक गर्दै उनले विभिन्न कानुन निर्माणमा ढिलाई हुँदा जनताले अनुभूती गर्ने गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई पूर्ण संस्थागत गर्न नसकेको बताइन् । कार्यविधिले हिंसामा परेका नागरिकलाई सेवा दिन सहजता प्रदान गर्ने उनको भनाई छ । स्थानीय सरकारको एकल अधिकार अन्तर्गत कार्यविधि तयार भएको र सकेसम्म हिंसा हुन नदिने र भइहालेमा न्याय सुनिश्चित गर्ने बताइन् ।

गैरेले महिला अधिकारको क्षेत्रमा पनि केही कानुनी व्यवस्था गर्नुपर्छ भन्ने उद्देश्यले लागि परेको  बताइन् । उनले रामपुर नगरपालिकासँगै रम्भा गाउँपालिकामा पनि कार्यविधि सार्वजनिक गर्ने कार्यक्रम रहेको उल्लेख गरिन् । रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले स्थानीय सरकारलाई संविधानले अधिकार दिए पनि स्पष्ट कार्यविधि नहुँदा आफ्नै अधिकारभित्रका कामहरु गर्न कठिनाइ हुने गरेको उल्लेख गर्दै, महिला तथा बालबालिका माथि हुने हिंसा विरुद्ध न्याय दिन यस कार्यविधि ऐतिहासिक भएको बताए । हालसम्म रामपुर नगरपालिकाले १७ वटा ऐन, ९ वटा नियमावली र ७८ वटा कार्यविधि तयार गरेको छ । कार्यविधि कार्यान्वयनमा नगरपालिका प्रतिवद्ध भएर लाग्ने उनको भनाई छ । इलाका प्रशासन कार्यालय रामपुरका प्रमुख उदयराज भट्टराईले पिडितलाई उपलब्ध हुने सेवाहरुलाई प्रभावकारी बनाउन कार्यविधि सहयोगी हुने बताए । इलाका प्रहरी कार्यालयका प्रमुख राम बहादुर नेपालीले कार्यविधिले न्यायको लागि सम्बन्धित निकायमा जानको लागि प्रेरित गर्ने उल्लेख गरे । उनले हिंसाका घटना स्थानीय रुपमा समाधान गर्न सकियो भने सहज हुने धारणा राखे । सारथी नेपाल पाल्पाकी अध्यक्ष विष्णु माया थापा मगरले अवसर प्रदान गरेकोमा नगरपालिकालाई धन्यवाद दिँदै यसले हिंसा पीडितलाई सहजीकरण गर्ने बताइन् ।

कार्यक्रममा महिला कानुन र विकास मञ्चका कार्यकारी निर्देशक अधिवक्ता सविन श्रेष्ठले कार्यविधिको बारेमा विस्तृत जानकारी दिए । उनले घरेलु हिंसा बढ्दो क्रममा रहेको भन्दै स्थानीय तहमार्फत छिटो न्याय सुनिश्चित गर्न यस प्रणालीले ठूलो योगदान गर्ने बताए । हिंसामा परेका महिला तथा बालबालिकालाई मनोसामाजिक सेवा, सुरक्षा, संरक्षण, स्वास्थ्य उपचार, कानुनी सहयोग, शिक्षा, पुनःस्थापना, परिवार मिलाप लगायतका सेवा उपलब्ध गराउनको लागि स्थानीय तहमार्फत प्रणाली निर्माण गरिएको छ । नेपालको संविधान २०७२, स्थानीय सरकार सञ्चालन ऐन २०७४ र घरेलु हिंसा सम्बन्धी कानुनअनुसार पनि स्थानीय सरकारको जिम्मेवारी भित्र पर्छ । त्यसैले हिंसापीडितलाई व्यक्तिगतरुपमा वा सेवाप्रदायकमार्फत छिटो सेवा दिन स्थानीय तहलाई सहयोग पुर्‍याउन यो निर्देशिका तयार गरिएको हो । नगर उपप्रमुख बालकुमारी थापाको स्वागत, महिला तथा बालबालिका शाखा प्रमुख पुजा परियारको सञ्चालनमा कार्यक्रम भएको थियो ।

 

प्रकाशित मिति: सोमबार, भदौ १६, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update