
पाल्पा, भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषिपञ्चमी आज हिन्दु नेपाली नारीहरूले अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाउँदै छन् । तिजको व्रत बसेका महिलाहरूले आज बिहानै उठेर नित्यकर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवम् खरानी लगाई स्नान गर्दछन् ।
हरितालिका (तिज) को व्रत एवम् पूजाआजा महिला पुरुष दुवैले गर्ने शास्त्रीय वचन रहे पनि ऋषिपञ्चमी भने महिलाले मात्र गर्नुपर्ने शास्त्रीय वर्णन छ । तिजको व्रत बसेकी तानसेन भगवतीटोलकी रेनुका बस्याल आज सप्तऋषिको पूजा गर्ने तयारीमा जुटेकी छन् । रजस्वलाका समयमा छाइछुइ लगायत कुनै त्रुटि भएको भए ऋषिपञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने वा पाप पखालिने धार्मिक विश्वासले हरेक वर्ष ऋषिपञ्चमीका दिन सप्तऋषिको पूजा गर्ने गरेको बस्यालले बताइन । कैलाशनगरकी बसन्ती अधिकारी पनि तिजको व्रत बसेकोले आज ऋषिपञ्चमीमा सप्तऋषिको पूजा गर्ने तरर्खरमा छिन् । हरेक वर्ष जस्तै यस वर्ष पनि तिजको व्रतसँगै सप्तऋषिको पूजा आरधाना गर्ने गरेको उनले सुनाइन् । अधिकारीले ऋषिपञ्चमीको पूजा नगरे तिजको व्रत अपुरो हुने धार्मिक विश्वास रहेकाले आज सप्तऋषिको पूजा गर्न लागेको बताइन् । अधिकारी र बस्याल जस्तै तिजका व्रतालुहरुले तिजको पर्सिपल्ट सप्तऋषिको पूरा गरी व्रत समाप्त गर्दछन् । ऋषिपञ्चमीको पूजा नगरे तिजको व्रत अपुरो हुने धार्मिक विश्वास रहि आएको छ । त्यसैले नारीहरु भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाउने गर्दछन् । आजको दिन दत्तिउन, गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गरेर पञ्चगव्य सेवन गर्नाले छुवाछूतको दोष निवारण हुन्छ भन्ने शास्त्रीय वचन रहेको छ । महिलाको रजस्वलासित जोडिएको ऋषिपञ्चमीका विषयमा एक किम्बदन्ती पनि प्रचलित छ । प्राचीन समयमा इन्द्रले विश्वरुपको शीरलाई तीन टुक्रा पारी हत्या गरेका कारण बह्म हत्याको पाप भोग्नुप¥यो । यस हत्याबाट पिरोलिएका इन्द्रले आफ्नो दुःख ब्रह्मालाई सुनाए । इन्द्रको ब्रम हत्या निवारणका लागि ब्रÞमाले एक वर्षसम्मको दोष इन्द्रलाई भोग गराइ बाँकी दोष पृथ्वी, वृक्ष, जल र स्त्रीमा चार भाग लगाई चारैतिर दिए । यसैकारण उब्जनी नहुने उर्वरभूमि, वृक्षबाट निस्कने खोटो, पानीमा निस्कने बुदबुद फेन अर्थात् फिँज र स्त्रीमा रज देखिन थालेको धार्मिक विश्वास रहेको पाइन्छ । रजस्वला भएका बेलामा अरुलाई छोइछाइ गर्दा महिलाको शरीरबाट निस्कने विकृत रजका कीटाणुले नराम्रा रोग निम्त्याउने र त्यसले गर्दा महिलालाई नै पाप लाग्ने भएकाले छुन नहुने र जानी नजानी छोइएमा आजको दिनमा अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले त्यस पापबाट मुक्त भइने धार्मिक विश्वास रही आएकाले यस पर्वलाई वैज्ञानिक मान्नुपर्ने धर्मशास्त्रविद्हरु बताउँछन् ।