
पाल्पा, प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाउँदैछन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको छ ।
सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन् । सृष्टिकर्ता ब्रÞमाजीले विवेकशील प्राणीसँगै पवित्र कुश पनि उत्पन्न गर्नुभएको धार्मिक विश्वास छ । आजका दिन घर घरमा राखिएको कुश वर्षभर हुने देवकार्य एवं पितृकार्यमा प्रयोग गरिन्छ । यसै अवसरमा प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने बाबुको मुख हेर्ने पर्व आज देशभर पितालाई विशेष सम्मान गरी मनाइँदैछ । छोराछोरीले परम्पराअनुसार आ–आफ्ना बुबालाई मन पर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन् । बुबा नहुनेले विभिन्न पवित्र स्थानमा गई आफ्ना बुबाको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिन्छन् । अन्धकार रुपी संसारमा ज्ञान एवं कर्मको दिब्य ज्योती प्रदान गरेर संसारमा अघि बढ्न सिकाउने गूरुका रुपमा रहेका पीतालाई छोराछोरीहरुले मनपर्ने विभिन्न खानेकुरा, लत्ताकपडा लगायतका विभिन्न वस्तुहरु दिदै बुबाको सम्मान गर्ने गर्दछन् । यो दिनलाई अर्को शब्दमा पीतृऔंसी, पीतृदिवस, गोर्कण औंसी, कुशे औंशी आदि पनि भनिन्छ । आमापछिको द्वितिय गुरुका रुपमा शास्त्रले बर्णन गरेको छ । महत्वपूर्ण धार्मिक कार्य गर्नुअघि पनि पितृकै स्मरण गर्ने चलन छ ।
पीतालाई संरक्षण गर्ने, रक्षा गर्ने र पालनपोषण गर्ने चरित्रका रुपमा शास्त्रमा उल्लेख छ । औशीका दिन आफूलाई कर्म दिने बुवाको मुख हेर्न छोराछोरीहरू बुवा भएको ठाउँमा पुग्ने गरेका छन् । बुबा भएको ठाउँसम्म पुग्न नसकेकाहरु आफ्ना बुवालाई टेलिफोन तथा विभिन्न सामाजिक इमेल, स्काइप, फेसबुक लगायतका विभिन्न सञ्जालमार्फत सम्झने र कुराकानी गरेर आर्शिवाद लिने तयारी गरेका छन् । घरमा रहेकाले बाबुलाई भेटेरै आर्शिवाद लिदै छन् । पितृ औंसी तथा गोकर्ण औंसीका नामले समेत चिनिने यसदिन आफूलाई जन्म दिई लालनपालन गरी हुर्काएकोमा बाबुप्रति कृतज्ञता ज्ञापन गरी सम्मान गरे राम्रो फल मिल्ने विश्वास छ ।