
पाल्पा,प्रेस चौतारी नेपाल पाल्पा शाखाले हरितालिका तिजको अवसरमा पाल्पाका महिला पत्रकारहरुलाई एक दिने प्रशिक्षण दिएको छ । उसले महिला पत्रकारिताको अवस्था, अवसर चुनौतीका विषयमा प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको हो ।
प्रशिक्षणमा जिल्लामा क्रियासिल प्रेस संघ संगठनका महिला पत्रकारहरुको सहभागिता रहेको थियो । अनुशिक्षण कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पाका पूर्व अध्यक्ष तथा प्रेस चौतारी फाँट इन्चार्ज राजेश कुमार अर्यालले वर्तमान अवस्थामा महिलाको अवस्था, अवसर, संभावना, चुनौती लगायतका विषयमा पत्रकारिताको पक्षबाट उठान भएका विषयबस्तु, भविष्यमा गर्नुपर्ने कामहरुको बारेमा प्रशिक्षण दिएका थिए ।
प्रशिक्षक अर्यालले परम्परागत मिडियाको प्रभाव कम भई हाल न्यू मिडिया र डिजिटल पत्रकारिता, प्रयोग, चुनौती र अवसरका विषयमा चर्चा गरे । पछिल्लो समय सञ्चार प्रविधिको तीव्र विकासले पत्रकारिता क्षेत्रलाई आमूल परिवर्तन गरेको बताउदै फाँट इन्चार्ज अर्यालले परम्परागत पत्र–पत्रिका, रेडियो, टेलिभिजनसँगै न्यू मिडिया र डिजिटल पत्रकारिता मुख्यधारा बनेको बताए । संविधान अनुसारको महिला मैत्री, समाचार, अवसर तथा समान व्यबहार भए नभएको विषयमा पत्रकारहरुले कलम चलाउनु पर्ने र महिला पत्रकारहरुले अझै बढी सक्रिय भएर काम गर्ने विषयमा प्रशिक्षक अर्यालले विभिन्न उदाहरणहरु पेश गरेका थिए । कार्यक्रममा प्रेस चौतारी फाँट सहइन्चार्ज बन्दना पोखरेल, नेपाल प्रेस युनियन पाल्पाकी सभापति मन गहिरे, समाजवादी पे्रस संगठन केन्द्रीय सदस्य रमा भण्डारी, सञ्चारिका समूह पाल्पा अध्यक्ष सिता डोटेल, चौतारी सदस्य गीता रेग्मीलगायतले पत्रकारिता क्षेत्रमा भए गरेका कामहरु चर्चा गरेका थिए ।
महिला पत्रकारहरुको समय अनुसार क्षमता विकास गराउने उद्देश्यले अनुशिक्षण कार्यक्रम गरिएको प्रेस चौतारी पाल्पाका अध्यक्ष कृष्ण कार्कीले जानकारी दिए । कार्यक्रम प्रेस चौतारी पाल्पाकी उपाध्यक्ष रीमा सोमैको अध्यक्षतामा भएको कार्यक्रममा चौतारी सदस्य गुणवती केसीको स्वागत र सचिव दयाराज न्यौपानेको सञ्चालनमा भएको थियो । अनुशिक्षणमा महिला पत्रकारहरुले मौलिक तिजको गीत गाई मनोरञ्जन गरेका थिए ।