Shittalpati
रैनादेवी छहरा तिज गीत प्रतियोगितामा मुझुङ प्रथम  

पाल्पा, जिल्लाको रैनादेवी छहरा गाउँपालिकाले आयोजना गरेको पालिकास्तरीय तिज गीत प्रतियोगितामा वडा नं ५ मुझुङ प्रथम भएको छ । प्रतियोगितामा वडा नं.६ जुठापौवा द्वितीय  र  वडा न. : ८ सत्यवतीले तृतीय स्थान प्राप्त गरेका छन् ।  गाउँपालिकाले प्रतियोगितामा प्रथम हुने वडा नं. ५ को समुहलाई नगद २० हजार, प्रमाणपत्र द्धितीय हुने वडा नं. ६ को समुहलाई नगद १५  हजार, प्रमाणपत्र  र तृतीय हुने वडा नं. ८ को समुहलाई  नगद १० हजार  पुरस्कार र प्रमाणपत्र  प्रदान गरेको छ । प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय तथा सहभागीहरुलाई समुहहरुलाई गाउँपालिका अध्यक्ष रुक्माङ्गत भट्टराई, उपाध्यक्ष युवराज थापा, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ज्ञवाली लगायतले पुरस्कार तथा प्रमाणपत्रहरु वितरण गरे ।

पुरस्कार वितरण गर्दै गाउँपालिका अध्यक्ष रुक्माङ्गत भटराईले तिज गीत नेपालका महिलाहरुको मौलिक परम्परा रहेकोले जर्गेना गर्न पालिकाले वडा वडामा प्रतियोगिता सञ्चालन गर्दै पालिका स्तरीय प्रतियोगिता गरेको बताए । पालिकाले तिज पर्व सँगै अन्य किसिमका मौलिक तथा परम्परागत पर्वलाई प्रोत्साहन, पवद्र्धन तथा जर्गेना गर्न सहयोग गर्दै आएको पालिका अध्यक्ष  भट्टराईले बताए । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष युवराज थापाले तिज संस्कृतिले महिलाहरुलाई हरेक किसिमको गतिविधिमा सक्रिय बनाएको , गाउँ ठाउँ, शहर बजारमा भएका विषयबस्तुहरु गीतको माध्यमबाट  जनमानसमा आउने गरेको बताए । कटौजेपानी खेल मैदानमा भएको तिज गीत प्रतियोगिता हेर्न प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ज्ञवाली सहित, कर्मचारीहरु, वडा अध्यक्ष तथा जनप्रतिनिधीहरु, एवं सर्वसाधारणहरुको भिडभाड लागेको थियो । पालिका भित्रका गतिविधी, समाजिक अवस्था, विकृती, विसंगती, वडा वडामा आईपरेका समस्याहरु, महिलाहरुको अवस्था लगायतका विषयवस्तुमा महिलाहरुले आ–आफ्नो प्रस्तुती बनाएका थिए ।  प्रतियोगितामा राष्ट्रिय लोकदोहरी प्रतिष्ठान पाल्पाका उपाध्यक्ष रुपेश कार्की, नृत्य प्रशिक्षक मञ्जिता सुनाम र  भैरव माविका  शिक्षक खिमानन्द पोखरेलले निर्णाकको भूमिका निर्वाह गरेका थिए  ।  प्रतियोगिताको  सञ्चालन  शिक्षा शाखा प्रमुख  निसा पाण्डेले गरेकी थिइन् ।

प्रकाशित मिति: बिहीबार, भदौ ५, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update