
तानसेन (पाल्पा), राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको निर्माणधिन सिद्धबाबा सुरुङमार्गको काम धमाधम भइरहेको छ । सुरुङमार्ग आयोजनाका अनुसार अहिले सुरुङमार्गमा टनेल लाइनिङ (भुइँ र भित्ता ढलान) को काम धमाधम भइरहेको हो । यसबाहेक स्लोप प्रोटेक्सनमा समेत काम जारी छ ।
सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ दोभान सिद्धबाबा क्षेत्रमा निर्माणाधीन सुरुङमार्गको ‘ब्रेक थ्रु’ भएपछि कामले गति लिएको हो । हालसम्म सुरुङमार्गको भौतिक प्रगति ५९ दशमलव ७३ प्रतिशत सकिएको छ भने वित्तीय प्रगति ५१ दशमलव एक प्रतिशत रहेको सिद्धबाबा सुरुङमार्ग आयोजना कार्यालयका आयोजना प्रमुख कृष्णराज अधिकारीले बताए । उनका अनुसार अहिले मुख्य टनेल भुइँ भागको एक हजार ८९ मिटर ढलान (इन्भर्ट) निर्माण सकिएको छ । दायाँबायाँ लेपन (लाइनिङ)को ९ सय ९४ मिटर काम सकिएको आयोजना प्रमुख अधिकारीले बताए । उनका अनुसार अहिले सुरुङमार्ग भित्र २९२ मिटरमा लाइनिङको काम भइरहेको छ । “सुरुङमार्गको तीन वटा बाइपासमध्ये पहिलो १५१ मिटर, दोस्रो १६१ मिटर र तेस्रो बाइपास १३० मिटर छ । पहिलो बाइपासमा इन्भर्टको काम १४५ मिटर र १२४ मिटर लाइनिङको काम सकिएको छ । दोस्रो बाइपासमा इन्भर्टको काम १ सय ५७ दशमलव ८ र ८ दशमलव ३ मिटर लाइनिङको काम सकिएको छ । यस्तै सुरुङमार्गको तेस्रो बाइपासमा इन्भर्टको काम १२५ मिटर र लाइनिङको काम एक सय ४ दशमलव २ मिटर भइसकेको छ”, उनले भने ।
दुई लेनको मुख्य सुरुङमार्ग एक हजार ८९ मिटर लम्बाइको हुनेछ भने चौडाइ साढे १० मिटर र उचाइ करिब सात मिटर रहने छ । सुरुङमार्गको मुख्य टनेलमा अत्यावश्यक कामका सवारीसाधन ओहोरदोहोर गर्न मिल्ने अवस्था बनेको छ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्डको माथिल्लो सिद्धबाबा मन्दिरबाट एक हजार १२६ मिटर सुरुङमार्ग २०७९ सालदेखि निर्माण सुरु भएको हो । यो आयोजनअन्तर्गत मुख्य सुरुङको ‘ब्रेक थ्रु’ भइसकेको छ । सुरूङमार्ग पाँच वर्षमा सक्नेगरी चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले सात अर्ब ३४ करोड २१ लाख ४० हजारको लागतमा सुरु गरेको काम २०८३ सालमा सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजना कार्यालयले जनाएको छ । सिद्धार्थ राजमार्गको तल्लो सिद्धबाबा मन्दिरबाट पाल्पाको दोभानसम्म अत्यधिक पहिरो झर्ने क्षेत्रअन्तर्गत पर्छ । सुक्खायाममा पनि धुले पहिरो खस्ने गरेकाले राजमार्गको यस खण्डलाई सुरक्षित बनाउन सुरुङमार्ग निर्माण गरिएको हो ।