
पाल्पा, पाल्पाका प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदीले नागरिकले मागेपछि सूचना लुकाउन नहुने बताएका छन् । राष्ट्रिय सूचना दिवसको अवसरमा मंगलबार जिल्ला प्रशासन कार्यालयमा भएको सूचना अधिकारी र पत्रकारहरुसँगकोछलफलमा पत्रकारहरुको गुनासो तथा जिज्ञासा पश्चात प्रजिअ सुवेदीले नागरिकले पाउनु पर्ने सूचना लुकाउन नहुने बताएका हुन् ।
जनताको सूचनाको अधिकारलाई कसैले पनि कमजोर पार्न नहुने भन्दै उनले केही गोप्य सूचना बाहेक अन्य सार्वजनिक सूचनाहरु प्रवाह गर्न सरकारी कार्यालयका सूचना अधिकारीहरुलाई निर्देशन समेत दिए । उनले हरेक नागरिकलाई आफ्नो व्यक्तिगत सरोकार र सार्वजनिक महत्वका सूचना माग्दा पाउने अधिकार भएको स्पष्ट पार्दै जनताप्रति जवाफदेही र नागरिकमैत्री बनाउन सूचनाको हकसम्बन्धी कानूनी व्यवस्था भएको बताए । प्रजिअ सुवेदीले भने “कानूनी व्यवस्थामा भए अनुसार ५ वटा गोप्य सूचना बाहेक नागरिकले मागे हरेक सार्वजनिक सूचनाहरु दिनुहोस।” सूचना नदिए, लुकाए र स्वतः सार्वजनिक हुनुपर्ने सूचना प्रकाशित नगरेमा सम्बद्ध निकायको प्रमुख र सूचना अधिकारीले कारवाहीको भागीदार बन्नुपर्ने समेत उनले बताए । “जति गोप्य गर्न खोज्नु हुन्छ, लुकाउन खोज्नु हुन्छ त्यति नै जटिलता हुन जान्छ,’ प्रजिअ सुवेदीले भने “त्यसैले पारदर्शीता अपनाउँदै अरुले जान्न पाउने अधिकारको संरक्षण गर्नुहोस् ।” सार्वजनिक निकायको सूचना जति धेरै सञ्चार माध्यम र नागरिकहरुलाई दियो, त्यति नै धेरै पारदर्शिता र सुशासन कायम हुने उनको भनाई थियो । प्रजिअ सुवेदीले कुनै पनि सरकारी कार्यालयले यो वा त्यो बाहनामा सूचना लुकाउन नहुने बताए । उनले सूचना अधिकारीहरुको क्षमता अभिवृद्धिका लागि छिट्टै राष्ट्रिय सूचना आयोगबाट प्रशिक्षक ल्याएर तालिम दिने समेत उल्लेख गरे । कार्यक्रममा पत्रकारहरुले सूचना अधिकारीहरु आफ्नो कर्तव्य र जिम्मेवारी प्रति अनविज्ञ रहनु, कार्यालय प्रमुखहरुबाटै सूचना अधिकारीहरुलाई सूचना प्राप्त नहुनु, सरकारी कार्यालयका वेबसाइटहरु अपडेट नहुनु, सूचना माग गर्दा समेत सूचना अधिकारीहरुले कानाकानी गर्ने, स्थानीय तह र सरकारी कार्यालयबाट हुने सूचना, विज्ञापन कमिसनको लोभमा स्थानीय मिडियामा नदिने बाहिर पठाउने गरेको बताएका थिए । नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष कमलराज तिमिल्सेनाले नागरिकप्रति जिम्मेवारसँगै मिडियामैत्री बन्न सूचना अधिकारीहरुलाई आग्रह गरे ।
सूचना पाउनु नागरिकको मौलिक अधिकार भएको भन्दै उनले सूचना सहज रुपमा उपलब्ध गराउन आग्रह गरे । कार्यक्रममा नेपाल पत्रकार महासंघ निवर्तमान अध्यक्ष रेखिराम राना, महासंघका जिल्ला सचिव रामचन्द्र रायमाझी, पत्रकारहरु माधव अर्याल, कृष्ण दर्नाल, किरण कौसल, मिलन विश्वकर्मा, कृष्ण कार्की, कृष्ण पोखरेल, नारायण न्यौपाने लगायतले सूचना जति धेरै प्रवाह गर्न सक्यो कार्यालय÷संघसंस्थाहरु त्यति नै धेरै शक्तिशाली हुने भएकाले सूचना सहज रुपमा उपलब्ध गराउन र स्थानीय मिडियाहरुको प्रवद्र्धन गर्न स्थानीय सूचना/विज्ञापन स्थानीय मिडियाहरुलाई दिनुपर्नेमा जोड दिए ।