Shittalpati
तानसेनमा देखाइयो बाघ जात्रा

पाल्पा, जिल्लाको सदरमुकाम तानसेनमा बाघ जात्रा देखाइएको छ । प्रत्येक वर्ष रोपाइँजात्राको भोलिपल्ट देखाइने बाघ जात्रा मंगलबार देखाइएको हो ।

बजारमा बाघका आकृतिसहितका किशोर तथा युवाले बाजा बजाएर बजार नाच्दै परिक्रमा गरेका थिए । दुई बाघ, घोडा, बांँदर र सिकारीको भेषमा बाजा र झ्यालीले रमाइलो बनाएको थियो । बाघलाई सिकारीले मार्न खोज्दै गरेको र बाजाको तालमा कार्य गरेको दृष्यले सबैलाई आकर्षित गराएको थियो ।

तानसेनमा हरेक वर्ष पाल्पाली नाट्य कला साँस्कृतिक समूह तानसेन –६ बसपार्कका युवा र बालबालिकाहरुले बाघ जात्रा देखाउने गर्दछन् । परापूर्वकालमा बाघको आतंकले तानसेनवासी आजित भएको र बाघलाई मनाउन बाघ जात्रा निकाल्ने प्रचलन रहेको जानकारहरु बताउँछन् ।

परापुर्वकालदेखि मनाइँदै आएको बाघजात्रा पछिल्ला वर्षहरुमा हराउन थालेको संस्कृतिविद् मदन देउरालीले बताए । परापूर्वकालमा बस्ती कम र जनसंख्या पनि कम तथा जंगल घना भएकाले जंगली जनावरले गाउँलेलाई असाध्यै सताउँथे । बाघले निकै सताउँथ्यो । त्यसपछि बाघ जात्रा निकाल्ने चलन चलेको उनले बताए ।

केही समय अघिसम्म उत्सवको रुपमा निकालिने बाघ जात्रा पछिल्लो वर्ष भने पर्व धान्नको लागि मात्र भए पनि देखाउने गरिएको छ । परम्परागत रुपमा मनाइंदै आइएको बाघजात्रा पछिल्ला वर्षहरुमा भने हराउँदै जान थालेपछि पुराना पुस्ताहरु भने चिन्तित छन् । उनीहरुले पुराना संस्कृति जर्गेनामा नयाँ पुस्ताले चाँसो दिनुपर्नेमा जोड दिन्छन् । जात्राको उजागर, संरक्षण तथा नयाँ पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यले अहिले जनतन जात्रा देखाउने गरिएको छ । काठमाडौंपछि सबैभन्दा बढी जात्रा मनाइने सहरका रुपमा मानिने तानसेनमा जनैपूर्णिमाको दिनदेखि लगातार दश दिनसम्म विभिन्न जात्राहरु मनाउने गरिन्छ ।

प्रकाशित मिति: मंगलबार, साउन २७, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update