
पाल्पा, तानसेनस्थित भूषालडाँडामा रहेको यस क्षेत्रकै पुरानो अस्पताल युनाईटेड मिसन अस्पतालले प्रसुति सेवा (सुत्केरी सेवा) तर्फ थप सेवा विस्तार गरेको छ । १६ बेड क्षमताको प्रसुति सेवा सञ्चालन गर्दै आएको अस्पतालले विहीबारदेखि थप २० वेड र सेमी क्याविन समेतको सेवा विस्तार गरेको हो ।
यो सेवासँगै अन्य सेवाहरु पनि विस्तार गर्दै जाने योजना बनाइएको अस्पतालका प्रशासकिय अधिकृत जीवन भट्टराईले बताए । उनले भने “ हामी विभिन्न स्वास्थ्य सेवा थप गर्नुका साथै अस्पतालको स्तरवृद्धिमा निरन्तर लागेका छौं । विरामीको चाँपलाई थप व्यवस्थित गर्नुको साथै सेवालाई परिस्कृत गर्ने काम हुँदै आएको छ ।” क्याविन सहितको प्राईभेटको सेवा माग भए अनुसार शुरु गरे पछि प्रसुतिका लागि आउँने महिलाहरु र उनका कुरुवाहरुलाई सहज भएको अधिकृत भट्टराईको भनाई छ ।
सुत्केरी सेवामा नाम कमाएको मिसन अस्पतालमा भएको वेड क्षमतामा २० वेड थप भए पछि धेरैले राम्रो सुविधा पाउँने अस्पतालका डाईरेक्टर डा. रचेल कारकले विश्वास व्यक्त गरिन् । उनले भनिन् “हामी अस्पतालका सेवा र सुविधाका लागि सधै चिन्तित छौं ।”
पश्चिम नेपालमै अस्पतालको अभाव भएको बेला विक्रम सम्वत २०११ सालमा स्थापना भएको अस्पतालले हाल २ सय शैया नियमित रुपमा सञ्चालनको स्वीकृती पाएको छ । अस्पतालले हालै मुटु रोग सम्बन्धी विशेषज्ञ चिकित्सकको व्यवस्था गरेर सेवा सञ्चालन गर्दै आएको छ भने, केही महिना भित्रै सिटिस्क्यान सेवा समेत सञ्चालन गर्ने तयारी गरी रहेको अस्पतालले जनाएको छ ।