
पाल्पा, नेपाल बहुभाषिक, बहुसंस्कृतिक भएको मुलुक हो । यहाँ सबै जातजाती, धर्म, संस्कृतिलाई समेटेर धेरै किसिमका पर्वहरु मनाइन्छ । सबै कुरालाई समेटेर चाडपर्व मनाइने गरिएकोले नै हाम्रो देशको कला, संस्कृति एवं परम्परा अहिलेसम्म बाँचिरहेको छ । साउने पन्ध्र संस्कृति पनि एक हो । प्रत्येक वर्ष साउन १५ गते खिर खाएर यो पर्व मनाउने गरिन्छ ।
वर्षा ऋतुका बेला असार १५ गते दही च्युरा र साउन १५ मा खिर खाने प्राचिनकालदेखिको नेपाली परम्परा हो । साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने गरिएको पाइन्छ । दूधमा मरमसलालगायत चिजबिज हालेर बनाइने खिरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ । धान रोपेर काम सकेपछि खुसीयाली स्वरूप साउन पन्ध्रमा खिर खाने चलन रहेको पाल्पा रिब्दीकोटकी शान्ता अधिकारीले बताईन् । उनी भन्छिन् “साउन महिनामा गाउँ–घरमा खेतीपातीको काम सकिन्छ । हरियाली बढी हुने भएकाले घाँस बढी पाइन्छ । राम्रा र धेरै घाँस पाइने बेलामा गाई, भैँसीले पनि धेरै दूध दिन्छन् । दूध धेरै भएपछि इष्टमित्र, चेलबेटीलाई घरमा बोलाएर खिर खाने चलन चलेको हो ।” साउन १५ मा खिर खाने चलन पुरानै रहेको तानसेनकी मीना खत्री बताउँछिन् । असारभरी पानी र हिलोमा खेल्दा सर्दी लाग्ने र तातो र पोषिलो खिर खाँदा सर्दिबाट जोगिने विश्वास रहेको उनको भनाई छ ।
खिर स्वस्थ्यवद्र्धक
असारे चटारो पछिको फुर्सदका साथै वर्षाको झरीमा भिजेको शरीरलाई निरोगी बनाउन तथा उर्जामय राख्न खिर खाने गरिन्छ । परापूर्वककालदेखि नै पुर्खाहरुले मौसम अनुसार श्रम र मानव स्वास्थ्यलाई सन्तुलनमा राख्न यस प्रकारको भोजनलाई चलनचल्तीमा ल्याएका हुन् । दूधमा प्रोटिन र फ्याटको मात्रा हुने र चामलबाट कार्बोहाइड्रेड र अन्य ड्राइ फ्रुट्सले भिटामिन, मिनरल्स प्रदान गर्ने भएकाले पनि खिरलाई पोषिलो परिकारका रुपमा लिने गरिन्छ । खिरमा प्रयोग गरिने मरिचले कफ हटाउन मद्धत गर्ने, दूधले शरीरमा शीतलता प्रदान गर्ने, दाख अग्निवद्र्धक हुने हुँदा पित्त नाश गर्ने, केसरले बल प्रदान गर्ने, र नरिवल आफैंमा बहुगुणकारी फल भएकाले पनि खिर खानु स्वास्थ्यवद्र्धक भएको आर्यूवेदशास्त्रमा उल्लेख छ ।
कर्मकाण्ड मात्रै ?
खिर खेतीबालीमा मात्र खाने परिकार होइन । साथसाथै साउन पन्ध्रमा मात्र खाने परिकार पनि होइन । खिर, दही–चिउरा वर्षायामको खाजा हो । वर्षायाममा अरु खानेकुरा सड्ने, गल्ने, बासी हुने भएकाले खिर, दही–चिउरा उपयोगी मानिन्छ । छिटो, छरितो, मिठो र सुपाच्य खानेकुरा भएकाले खिर,दही चिउरा यतिबेला हाम्रो शरीरका लागि उपयोगी हुन्छ । त्यसैले साउन पन्ध्रमा मात्र खिर खानु, तामझाम गर्नुको अर्थ छैन । बरु, खिर, दही चिउरालाई वर्षायामको नियमित नास्ता बनाएमा त्यसले स्वास्थ्य लाभ मिल्नेछ ।
खिरको मौलिक स्वाद भने हराउँदै
पछिल्लो समय गाउँघरमा गाई, भैँसी पाल्ने चलन कम हुँदै गएपछि पोषिलो खिरको मौलिक स्वाद भने हराउँदै गएको छ । पहिले–पहिले प्रत्येकको घरमा गाई भैँसी पाल्ने गर्थे । घरमा गाई, भैसी हुनेले दूध, दही, मोही, नौनी खाने चलन थियो, तर त्यो हिजो आजभोलि भने हराउँदै गएको छ । वर्षको एकदिनमात्र परम्परा धान्न र अरुलाई देखाउनकै लागि भएपनि डेरीको दूधमा खिर बनाएर खाने चलन अहिले बढेको छ । डेरीको दूधबाट बनाइएको खिरको मौलिक स्वाद भने हुँदैन् । पहिले जस्तो खिरमा मौलिक स्वाद नभएको पुराना पुस्ताहरुको गुनासो छ । “पहिले–पहिले घरमै भएको दूधबाट बनाइएको खिरको स्वाद नै बेग्लै हुन्थ्यो, अहिले भने डेरीबाट किनेर ल्याएको दूधको खिर खासै स्वादिष्ट नहुने रिब्दीकोट गाउँपालिका सिरुखर्ककी बसन्ती गाहा बताउँछिन् ।