पाल्पा, जिल्लाको रम्भा गाउँपालिकाले गाउँपालिका भित्रका आधारभूत तथा माध्यमिक विद्यालयका प्रधानाध्यापकहरूसँग शैक्षिक गुणस्स्तर बढाउनको लागि ३१ बुदे कार्यसम्पादन करार सम्झौता गरेको छ ।
कार्यसम्पादन सम्झौताले विद्यालय व्यवस्थापनमा पारदर्शिता, जवाफदेहिता र मापन योग्य नतिजाको आधारमा मूल्याङ्कन प्रणाली विकास गर्न मद्दत पुर्याउने लक्ष्य लिएको छ । पछिल्लो समय शिक्षामा देखिएको सुस्तता, शिक्षक तथा व्यवस्थापनको उदासीनता, विद्यार्थीको सिकाइस्तरमा कमजोरी लगायतका समस्याको समाधान खोज्न करार सम्झौता प्रभावकारी माध्यम बन्ने विश्वास रम्भा गाउँपालिकाले लिएको छ ।
रम्भाले गरेको कार्यसम्पादन सम्झौताबाट विद्यालयतहमा स्पष्ट कार्यदिशा,समयमै कार्यान्वयन, नियमित अनुगमन र मूल्याङ्कन प्रणाली सुनिश्चित हुनेछ । करार सम्झौताबाट प्रधानाध्यापकहरूको नेतृत्व क्षमता अभिवृद्धि हुने र उनीहरू कार्यप्रति बढी प्रतिवद्ध बन्ने अपेक्षा गरिएको छ । शिक्षकहरूमा पनि शैक्षिक उत्तरदायित्वप्रति गम्भीरता बढ्ने छ ।
यसैगरी विद्यालयमा विद्यार्थीहरुलाई नियमित कक्षा, गुणस्तरीय पठन–पाठन र समयमै विद्यार्थीहरुलाई पाठ्यक्रम वितरणको वातावरण सुनिश्चित हुने छ । अभिभावकहरूले विद्यालयबाट समयमै सूचना प्राप्त गर्ने, आफ्ना छोराछोरीको प्रगति बारे जानकारी राख्न पाउने र विद्यालयप्रति विश्वास बढ्ने वातावरण बन्ने छ ।
गाउँपालिकाले करार सम्झौताको माध्यमबाट गाउँपालिकाभित्र एकरूपमा शैक्षिक प्रणाली विकास हुने, गुणस्तर मापन गर्न सकिने र पालिकाले शैक्षिक नीतिहरू समयसापेक्ष सुधार गर्न सक्ने आधार तयार हुने जनाएको छ । कार्यक्रममा विभिन्न विद्यालयका सबै प्रधानाध्यापकहरूले तोकिएको मापदण्ड र जिम्मेवारीअनुसार काम गर्ने प्रतिवद्धता जनाएका थिए । पालिकामा गुणस्तरीय शिक्षामा नमुना काम गर्नको लागि प्रधानाध्यापकहरुले विद्यालयका सबै शिक्षकहरुसँग पुनः कार्यसम्पादन करार सम्झौता गर्नुपर्ने छ । विद्यालयका शिक्षकहरुको कार्यसम्पादन मुल्याङ्कन प्रधानाध्यापकले गर्ने छन् भने समग्र विद्यालयहरुको मुल्याङ्कन पालिकाले गर्ने छ । करार सम्झौता कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष बिष्णु प्रसाद भण्डारीले शिक्षा कुनै एउटा निकायको मात्र नभई सबै सरोकारवालाको साझा जिम्मेवारी भएको बताउँदै कार्यसम्पादन करार सम्झौताले विद्यालयमा उत्तरदायित्व, अनुशासन र नतिजामुखी कामप्रति प्रधानाध्यापकहरूलाई प्रेरित गर्नेमा जोड दिए । अब हरेक प्रधानाध्यापकले आफूले हस्ताक्षर गरेको प्रतिवद्धताअनुसार काम गर्नुपर्ने अध्यक्ष भण्डारीले बताए ।
गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बीर बहादुर पुनले शिक्षा क्षेत्रमा सुधार ल्याउन बजेट मात्र पर्याप्त नहुने, त्यसलाई सही ढंगले कार्यान्वयन गर्न प्रभावकारी नेतृत्व आवश्यक रहेकोले करार सम्झौता गर्नुपरेको बताए । सम्झौता हाम्रा विद्यालय सुधार गर्ने अभियानको लिखित सम्झौता भएकोले प्रधानाध्यापकले जिम्मेवारीबोधपुर्वक काम गर्न प्रमुख प्रशासकीय अधिकत पुनले जोड दिए ।
शिक्षा शाखा प्रमुख मिनादेवी आचार्यले करार सम्झौता विद्यालयको शैक्षिक उपलब्धि, शिक्षकको उपस्थिति, विद्यार्थीको नियमितता, पठनपाठनको कार्यान्वयन, विद्यालय व्यवस्थापन तथा अभिभावकसँगको समन्वय जस्ता महत्वपूर्ण सूचकहरू समावेश गरिएकाले जिम्मेवार भएर नतिजा सुधारको लागि गाईडलाइन भएको बताईन् ।
गाउँपालिकामा ३६ वटा सामुदायिक विद्यालय रहेकोमा ९ वटा मावि, २७ वटा आधारभुत विद्यालय रहेका छन् । गाउँपालिकामा २०८१ को एसईई नतिजामा ६० प्रतिशत विद्यार्थीहरु उर्तिण भएका छन् भने कक्षा ८ मा ७५ प्रतिशत विद्यार्थीहरु उर्तिण भएका छन् । दुबै नतिजालाई कम्तीमा ९० प्रतिशत पु¥याउने अभियानमा पालिका लागिपरेको गाउँपालिकाले जनाएको छ ।