Shittalpati
आज अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस

पाल्पा,अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी आज मनाइँदैछ । यो हरेक वर्ष ३० जुलाईका दिन मानव बेचबिखन उन्मूलन गर्न सचेतना जगाउने र त्यसका लागि विश्वव्यापी प्रतिबद्धतालाई सुढृढ गर्न मनाउने  गरिएको हो ।

हरेक वर्ष आजको दिन संयुक्त राष्ट्र संघको आवहानमा मानव बेचबिखन विरुद्ध जनमानसमा सचेतना फैलाउन यो दिवस मनाउने गरिन्छ । पछिल्लो समय नेपालमा मानव बेचविखन तथा ओसारपसारका घटनाका स्वरुपहरु फरक–फरक ढंगले आइरहेको छ । आन्तरिक बेचविखन अन्तर्गत देश भित्रै विभिन्न बाहनामा प्रलोभन देखाइ शारिरीक तथा मानसिक शोषण गर्नुको साथै बढदो शहरीकरण, बजारमा भइरहेको शोषणमूलक श्रम सम्बन्धहरु तथा पर्याप्त र प्रभावकारी सुरक्षा प्रणालीका अभावका कारण मानव बेचविखन तथा ओसारपसारका घटनाहरु बढी रहेका छन । नेपालमा राज्यले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण सम्बन्धि कानून कार्यान्वयनमा ल्याएको छ तर प्रभावकारी कार्यान्वयन हुन नसक्दा पीडकहरु सजिलै उम्कने र पीडितले न्याय पाउन नसक्ने अवस्थाको अन्त्य हुन सकेको छैन । मानव बेचबिखन एउटा यस्तो अपराध हो जसले महिला, बालबालिका र थुप्रै पुरुषहरुलाई समेत श्रम, यौन जस्ता गलत कार्यहरुमा जवर्जस्ती संलग्न गराउदछ । महिला वा बालिकालाई वेश्यावृत्तिमा लगाउने, यौनदासी बनाउने वा मनोरञ्जन उद्योगमा लगाउने जस्ता कार्यलाई मात्र मानव बेचविखन मान्ने परिभाषा निकै पुरानो भइसकेको छ । मानव बेचबिखनको प्रवृति फेरिँदै गएको छ । कुनै पनि व्यक्तिको इच्छाविपरीत धम्कीको प्रयोग, जबर्जस्ती तथा धोकाद्वारा कुनै प्रकारको शोषण, घरेलु काम, मानव अङ्ग झिक्ने, बेश्यावृति वा अन्य प्रकारका यौन शोषण गरिन्छ भने त्यो नै मानव बेचबिखन तथा ओसारपसार हो ।

संसार अहिले आधुनीकिकरणको युगमा छ, तरपनि अझ नेपालसहित विश्वका धेरै देशहरुमा मानव बेचबिखन तथा ओसारपसार विद्यमान छ । रोजगारीको अभाव तथा वैदेशिक रोजगार, गरिबी, शिक्षा र जनचेतनाको कमीको गलत फाइदा उठाउदै मानव बेचबिखन हुने गरेको छ ।

प्रकाशित मिति: बुधबार, साउन १४, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update