
पाल्पा, श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज (मंगलबार) परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ । यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ ।
नाग पूजाको प्रचलन वैदिककालदेखि नै शुरु भएको हो । तर आजभोली नागपञ्चमीमा गरिने धार्मिक एवं सांस्कृतिक क्रियाकलापमा परिवर्तन आएको पाइएको छ । ब्राम्हणले आफ्नै हातले नागको चित्र बनाएर जजमानका घरमा मूलढोकादेखि अरु ढोकामा ‘नाग, चट्याङ र अग्नीको भय नहोस्’ भन्ने कामनासहित टाँसिने नागको चित्र पछिल्लो समय ‘प्रिन्ट भर्सन’ आउने गरेका छन् । घरका मूल ढोकामाथि नागका तस्बिरमा दही, दुबो, लाजासहित चन्दन अक्षता नैवेध धुप दीप विधिपुर्वक पुजा गर्ने चलन भए पनि पछिल्लो समय त्यो क्रमशः हराउँदै लगएको छ । धेरै बेफुर्सदिला हुने गरेकाले पनि जतिसक्दो छिटो नाग टाँस्न सकाउने ध्याउन्नले गर्दा नागको विधिपुर्वक पुजा हुन छोडेको छ । पण्डित विष्णु आचार्यले विधिविधान र पुरानो रितीथितीअनुसार नागपूजा गर्न नै कठिन हुने गरेको बताउँछन् । “विधि विधानअनुसार पुजाआजा गर्न खोजे पनि पछिल्लो समय सहरी भेगमा शुद्ध गाईका दुध, गोबर तथा दुबोे अभाव हुन थालिसकेको छ,” उनी भन्छन्, “कति सामग्री जुटाउनै कठिन हुन थालिसकेको छ । नाग टाँस्दा सिक्का पनि टास्ने चलन छ ।” गोबर अथवा गहुँको पिठोबाट निर्मित नागमा वा कागजमा बनाएको नाग दियो, कलश, गणेशको पुजा गरी दही, दुबो, कुश, फुल, सिन्दुर, चन्दन आदिले पुजा गरी, धुप दीप, नैवैद्यसहित प्रार्थना गरी घरमा वा घरको ढोकामा टाँस्नाले कालसर्प आदि गरिएको योग पनि नष्ट हुने कथन छ । नागपञ्चमीको दिन बिहानै उठी स्नान गरी दिप, कलश, गणेशको पूजा गरी ढोकामा नाग टाँस्नाले वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिने विश्वास छ । साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास गरिन्छ । नागका बाह्र नाम भए पनि आठ कूलका आठवटा नागको पूजा गर्ने वैदिक सनातनकालदेखिको परम्परा छ । अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शड्ढ गरी आठ नागलाई आजको दिन ब्राÞमण पुरोहितबाट पूजाआजा गरी घरको ढोकामाथि टाँसिन्छ । आजको दिन घरमा नाग टाँसेपछि खेतबारीमा खनजोत गर्न हुँदैन र नाग, सर्प लगायतका घिस्रने जनावरलाई मार्नु हुँदैन भन्ने मान्यता पनि छ । यस दिन घरका ढोकामा कागजका नागका तस्बिर टाँसेर पूजा गर्ने प्रचलन छ । तर वातावरण सन्तुलन कायम राख्न महत्वपूर्ण भूमिका निर्वाह गरेको साँच्चीकैका (नाग) सर्प पछिल्लो समयमा भने मासिँदै गइरहेका छन् । नाग पुज्दै आएको हाम्रो समाजमा सर्प देख्नेबित्तिकै मार्ने चलन अझै छ । जसका कारण सर्पहरु जमिनबाट नासिदै छन् ।
मानवीय कारण नै सर्प लोपोन्मुख बन्दै गएको अनुसन्धानकर्ताले बताएका छन् । “सर्पले टोक्नेबित्तिकै मानिस मर्छ भन्ने परम्परागत धारणा मानिसमा छ” सर्प र भ्यागुताको अध्ययन गर्दै आएका गुल्मीका विष्णु अधिकारीले भने, “यसले टोकेर मानिस मरिहाल्दैन । असावधानी अपनाउँदा र झारफुकमा लाग्दा जोखिम बढी हुन्छ ।” त्यसमाथि सबै सर्प विषालु पनि नहुने भएकाले सावधानी अपनाउँदा र चाँडै अस्पताल पुग्दा विषालु सर्पले टोके पनि मानिसको ज्यान बच्ने उनले बताए । अधिकारीले सर्प पनि नाग नै भएकाले यिनीहरूलाई जोगाउनुपर्नेमा जोड दिन्छन् । उनी भन्छन् “सर्प पनि नाग नै हुन् । यी प्रकृतिका लागि आवश्यक र पूजा गर्न लायक छन् । यस्तो सन्देश हाम्रा पूर्वजले पहिल्यैदेखि दिएका हुन् ।”