
पाल्पा, आज विश्व बाघ दिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । बाघको संरक्षणार्थ उनीहरूको बास स्थानको संरक्षण, जनचेतना वृद्धि, संरक्षणका मुद्दाहरूको उठानका साथै बाघ संरक्षणमा भएका प्रयासहरूका विषयमा विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागिएको हो ।
सन २०१० देखि नेपालले पनि अन्तर्राष्ट्रिय स्तरमा बाघ दिवस मनोउँदै आएको छ । रुसको सेन्ट पिटर्सबर्गमा भएको बाघ पाइने विभिन्न १३ मुलुकका राष्ट्र र सरकार प्रमुखको सम्मेलनले विश्वमा बाघको संख्या दोब्बर पुर्याउने संकल्प गरेको थियो । सो संकल्पअनुसार नेपालले हरेक वर्ष जुलाई २९ मा बाघ संरक्षणका विषयमा चासो दिदै यो दिवस मनाउने गरेको छ । बाघ संरक्षणका लागि सरकारले वार्षिक करोडौं बजेट समेत विनियोजन गर्दै आएको छ । तर पछिल्लो समय बाघहरुको उचित व्यवस्थापन हुन सकेको छैन् । वन्यजन्तुको बढ्दो भीडले निकुञ्जहरु साँघुरिएर बाघको प्राकृतिक वृद्धिका लागि प्रतिकूल बनिरहेका छन् । नेपालले बाघ वृद्धि गर्ने विषयमा चासो दिए पनि त्यसको दीगो संरक्षणमा भने त्यत्ति चासो दिएको देखिदैन । बाघको संख्या बढेसँगै यसको दीगो संरक्षणमा चुनौती थपिएको हो । नेपालमा बाघको संख्या बढेसँगै यिनको व्यवस्थापन, मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण, बासस्थान सुधारलगायत अन्य विविध विषय चुनौती बनेका छन् । मध्यवर्ती क्षेत्रका मानिसहरू घाँस दाउरा, निहुरो टिप्न र गाइभैंसी चराउन जाने क्रममा सामुदायिक वनभित्रै बाघको आक्रमणमा पर्ने गरेका छन् ।
उनीहरुलाई जंगल नजाने वातावरण बनाउन सरकारले वैकल्पिक जीविकोपार्जनको उपायको व्यवस्था मिलाउने किसिमका कार्यक्रमहरू पनि गर्दै आएको छ । विकास निर्माण लगायत वनक्षेत्र अतिक्रमणका कारण बाघको नयाँ बासस्थानमा समस्या आएको छ । घाँसेमैदानहरु घट्न गई आहारा प्रजातीको वृद्धिदर घटेको छ । बाघको बासस्थान पनि चरम रुपमा अतिक्रमण भइरहेको छ । बाघको अस्तित्व जोगाइ राख्न हरेक वर्ष यो दिवस मनाउने गरिएको हो ।