Shittalpati
पाल्पामा एक वर्षमा करिब १९ हजारले लिए नागरिकता

तानसेन (पाल्पा), जिल्ला प्रशासन कार्यालय पाल्पा र इलाका प्रशासन कार्यालय रामपुरले एक वर्षको अवधिमा करिब १९  हजार जनालाई नागरिकता वितरण गरेका छन् । उनीहरुले आर्थिक वर्ष २०८१/०८२ मा गैरआवासीय र अंगीकृतसहित १८ हजार ९ सय ६२ जनालाई नागरिकता प्रमाणपत्र वितरण गरेका हुन् ।

जिल्ला प्रशासनबाट मात्र १४ हजार ९ सय ३ वटा र इलाका प्रशासनबाट ४ हजार ५९ वटा वंशजका आधारमा नागरिकता जारी गरिएको प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले बताए । उनले तानसेनमा पत्रकारसँगको छलफलमा गत वर्षको प्रगति विवरण सार्वजनिक गर्दै एक आर्थिक वर्षमा उक्त संख्यामा नागरिकता वितरण गरिको बताएका हुन् ।उनका अनुसार  सोही अवधिमा १७ जनाले गैरआवासीय नेपाली नागरिकता प्राप्त गरेका छन् । सबैभन्दा धेरै आठ जनाले अमेरिकाको नागरिकता लिएका छन् । तीन जनाले बेलायत  र तीन जनाले अस्ट्रेलियाको नागरिकता लिएका छन् । त्यस्तै, एक/एक जनाले भारत, हङकङ र इटालीको नागरिकता लिएका छन् । नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली, २०८० लागू भएपछि गैरआवासीय नेपाली नागरिकता प्रमाणपत्रको नयाँ व्यवस्था सुरु भएको थियो । सम्बन्धित वडाको सिफारिससहितको निवेदन, नेपाली नागरिकता त्याग गरेको प्रमाण÷नेपाली नागरिकताको प्रमाणपत्र, विदेशी मुलुकको नागरिकता–नागरिक भएको प्रमाण, हाल नागरिक रहेको मुलुकबाट लिएको राहदानीको प्रतिलिपिसहितका कागजात पेस गरेको खण्डमा सम्बन्धित प्रशासन कार्यालयबाट गैरआवासीय नेपाली नागरिकता प्रदान हुनसक्ने व्यवस्था छ । गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्रको हकमा राजनीतिक तथा प्रशासनिक अधिकारबाहेकका सम्पूर्ण अधिकार प्रयोग गर्न पाउने व्यवस्था रहेको प्रमुख जिल्ला अधिकारी सुवेदीले जानकारी दिए । उनले भने, ‘‘गैर आवासीय नागरिकताको बारेमा चासो राख्दै विदेशमा रहेका नेपाली तथा उहाँहरुका आफन्त कार्यालयमा आउने गर्नुभएको छ ।’’ पाल्पामा पहिलो पटक २०८० मंसिरमा तानसेन नगरपालिका –४ सिल्खानटोलका  १९ वर्षीय फेलिक्स बज्राचार्यले गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र लिएका थिए ।

यस्तै सोही अवधिमा १२ जनाले वैवाहिक अंगिकृत नागरिकता लिएका छन् । यहाँ ६ हजार ९ सय ९८ वटा नागरिकता प्रमाणपत्रको प्रतिलिपी समेत जारी भएको छ । यस्तै जिल्ला प्रशासनबाट १७ जनाले नागरिकता त्याग गरेका छन्  ।यस्तै सोही अवधिमा ८ हजार ९ सय ४१ वटा राहदानी वितरण गरिएको  सहायक प्रमुख जिल्ला अधिकारी ऋषिराम सुवेदीले बताए । उनका अनुसार ८ हजार ७७ वटा राहदानीका  लागि सिफारिस गरिएको छ । यो तथ्याङ्  जिल्ला प्रशासन कार्यालयको मात्र हो । उता इलाका प्रशासन कार्यालयमा पनि  सोही अवधिमा ८ सय ६६ वटा राहदानी वितरण गरिएको छ ।यस्तै जिल्ला प्रशासन कार्यालयबाट  २ सय ५५ नाबालक परिचय पत्र,  राष्ट्रिय परिचयपत्र  ५ हजार ७७  वटा वितरण भएको छ । इलाका प्रशासनबाट ५१ वटा नाबालक परिचय पत्र, ३ हजार २ सय २४ राष्ट्रिय परिचय पत्र वितरण भएको छ ।  यस्तै जिल्ला प्रशासनमा दर्ता भएका १७ वटा अभद्र व्यवहार र १५ वटा सवारी क्षतिपूर्तिका मुद्धा मध्ये शतप्रतिशत पछ्र्यौट भएका छन् ।

प्रकाशित मिति: शुक्रबार, साउन ९, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update