
पाल्पा, नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालका विचार आत्मसात् गर्नुपर्नेमा एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । तानसेनमा आयोजित पुष्पलाल स्मृति दिवसमा बोल्ने अधिकांस वक्ताहरूले पुष्पलालको विचार, सिद्धान्त र आदर्श आत्मसात् गर्न नसक्दा कम्युनिष्ट आन्दोलनमा विचलन आएको भन्दै उनको विचारलाई आत्मसात् गर्नुपर्नेमा जोड दिए ।
पुष्पलालले अगाडि सारेका सिद्धान्त, संगठन र संघर्षको ३ स, आदर्श र संयुक्त आन्दोलनको आवश्यकता आज पनि रहेको सहभागीहरुले बताए । उनीहरूले नेपाली कम्युनिष्ट आन्दोलनको समीक्षा गर्दै सैद्धान्तिक आचरण र मुलुकको विकासमा ध्यान जानुपर्ने औंल्याए । पुष्पलाल स्मृति प्रतिष्ठान नेपालको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंक खनालले आफूले अन्याय सहेर पनि आम नेपालीको न्यायका लागि लडेका पुष्पलालका आदर्श विचारहरूको पालना गर्नुपर्नेमा जोड दिंदै वर्तमानमा बढेको छाडापन हटाउन आवश्यक रहेको बताए ।
प्रतिष्ठानका संरक्षक अशोक कुमार शाहीले राजनीतिज्ञहरू पुष्पलाल र वि.पि. कोइरालाबाट नेपालका ठूला राजनीतिक दलहरू चलेका, मुलुकको भू–बनोट र आदर्श राजनीतिका लागि विचारविमर्श गर्न आफू तानसेन नगरप्रमुख रहँदा पुष्पलाल र वि.पि. कोइरालाका नाममा प्रतिष्ठानहरू गठन गरेको स्मरण गर्दै राजनीतिमा निषेध र माफियाकरण बढेकोप्रति चिन्ता ब्यक्त गरे । बामपन्थी नेता धनेन्द्रराज घिमिरेले पुष्पलालको राजनीतिक जीवन यात्रामा दाजु शहिद गंगालालको उत्प्रेरणा रहेको, पुष्पलालले नेपाल कम्युनिष्ट पार्टीको स्थापना, कम्युनिष्ट घोषणा पत्रको अनुवाद, नेपाली समाजको वर्गीय मुक्तिका लागि नौलो जनवादी कार्यक्रम, विभिन्न साहित्य रचनाामार्फत विशेषगरी नारी सचेतनामा योगदान, राजा महेन्द्रको कू पछि बामपन्थी र नेपाली काँग्रेसको संयुक्त आन्दोलनको विचार लगायतका कार्य गरेको र ती विचारहरूको सार्थकता निरन्तर रहेको बताए । नेपाली काँग्रेस पाल्पाका उपसभापति झपेन्द्र गहिरेले ठूला दलहरूले जनताका चाहनाअनुसारका कार्य गर्न नसकेका कारण नयाँ शक्तिका नाममा विभिन्न प्रकारका गतिविधि बढेको बताउँदै दलहरूले राम्रो भूमिका खेल्दै सरकार लोकप्रिय बनाउनु पर्ने आवश्यकता रहेको औल्याए । उनले नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका विभिन्न किसिमका सरकारहरूबाट मानिसहरू सन्तुष्ट हुन नसकेको भन्दै दलहरू सच्चिने वा सक्किनेको अवस्थामा पुगेको बताए ।
नेकपा माओवादी केन्द्र पाल्पाका अध्यक्ष राजेन्द्र बिकले नेपालमा आत्मनिर्भर अर्थतन्त्रको विकासमा बामपन्थीहरूले कार्य गर्नुपर्ने, दलाल पुँजिवादी चरित्र त्यागेर सैद्धान्तिक अध्ययन अनुसन्धान र त्यसका लागि पठन एवम् बहस आवश्यक रहेको बताए । अर्का युवा नेता मथुरा ढकालले चीनमा देङ स्याओ पिङले शुण्य प्रतिशत गरीवीमा पुर्याएको प्रसंग प्रस्तुत गर्दै नेपालमा बामपन्थीहरूले लामो समय सरकार चलाउँदा पनि गरीवी कम गर्न सफल नभएको चिन्ता ब्यक्त गरे । उनले दलका संरचना र शक्तिलाई नेतृत्वले वैयक्तिक स्वार्थका लागि प्रयोग गर्ने गरेको चर्चा समेत गरे । त्यस्तै एमाले तानसेन नगर अध्यक्ष गुँरास आत्रेयले पुष्पलालप्रति सम्मान र सैद्धान्तिक बहस आवश्यक रहेको बताए । नेपाल शिक्षक महासंघका उपमहासचिव राम प्रसाद ढकालले दलहरू र जनप्रतिनिधिहरूले सिद्धान्तअनुसारका कार्य गर्न नसकेका कारण वैकल्पिक शक्तिहरू बढेको धारणा व्यक्त गरे । कार्यक्रममा जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक हरि प्रसाद घिमिरे र प्रतिष्ठानका सचिव गणेशराज ज्ञवालीले पुष्पलालको योगदानको चर्चा गरे । ज्ञवालीले पुष्पलालका विचारले बामपन्थी एकता र पुँजिवादी जनवादबाट समाजवादी जनवादतिर जानका लागि सहयोग गर्ने बताए । पुष्पलाल स्मृति प्रतिष्ठान नेपालका उपाध्यक्ष गोपाल प्रसाद बश्यालको अध्यक्षता, प्रतिष्ठानका सदस्य सन्तोष खनालको सहजीकरणमा कार्यक्रम भएको थियो ।