Shittalpati
स्वास्थ्य क्षेत्र सुधारको प्रयास

वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा देखिएका समस्याहरु पछिल्लो समय केही सुधार हुँदै गएका छन् । स्वास्थ्य मन्त्रालयको नेतृत्व सम्हालेपछि मन्त्री प्रदीप पौडेलले सार्वजनिक स्वास्थ्य सेवा सुधारतर्फ देखाएको चासो र सक्रियताले सकारात्मक रूप लिएको छ । राजनीतिक अस्थिरता, सीमित स्रोतसाधन र संरचनागत कमजोरीबीच पनि उनले केही उल्लेखनीय पहल अगाडि सारेका छन्, जसले स्वास्थ्य सेवा प्रणालीमा नयाँ आशा जगाएको छ । सेवा प्रवाहमा जटिलता, अस्पतालमा बिरामीको बढ्दो चाप, जनशक्ति र स्रोतसाधनको अपर्याप्तता, स्वास्थ्य बिमाको कमजोर प्रदर्शन यी सबै स्वास्थ्य क्षेत्रका समस्या हुन् । यी समस्या जादुको छडीले जस्तो एक÷दुई दिन वा महिनामा समाधान हुन सक्ने त हैन । तर,  मन्त्री पौडेल आइसकेपछि केही न केही परिवर्तनबाट आशा जगाउने बिन्दुमा पु¥याउन दिनरात इमान्दार प्रयत्न गरिरहेको देखिन्छ । धेरै समस्या भोगेका नागरिकलाई अहिले पनि उस्तै लाग्न सक्छ । अस्पतालमा लाइन उस्तै देखिन सक्छ । तर, इमान्दार भएर भन्ने हो भने अस्पतालमा लाइन घटाउने गरी थालेका प्रयासले केही सार्थक नतिजा दिन थालिसकेका छन् । पहिलेभन्दा बढी क्षमतामा बिरामीको परीक्षण, अनलाइन प्रणालीमार्फत समय लिन सक्ने, अपरेसनका लागि वर्ष दिनसम्म कुर्नुपर्ने अवस्थामा केही न केही राहत भएकै छ, अस्पतालहरू तुलनात्मक रूपले सफा भएका छन्, बिहान तथा दिउँसो सेवा पाउन केही हदसम्म सहज भएको छ । 

सरकारी अस्पतालहरूमा विशेषज्ञ चिकित्सकको नियमित उपस्थिति सुनिश्चित गर्ने, औषधिको अभाव नहोस् भन्नेतर्फ कडाइ गर्ने र विपन्न वर्गका लागि निःशुल्क सेवा विस्तारजस्ता कार्यक्रमले स्वास्थ्यमा केही सुधार भएको महसुस गर्न सकिन्छ । यसबाहेक, स्वास्थ्य बीमा कार्यक्रमतर्फ मन्त्री पौडेलले उठाएका कदमहरू सराहनीय छन्, यद्यपि यसको प्रभावकारिता परीक्षणका लागि अझै केही समय पर्खनुपर्नेछ । साथै, स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउनेतर्फ उनले गरेको पहल, विशेषतः टोल–टोलमा स्वास्थ्य सेवा पु¥याउने नीति, प्रसूति सेवा तथा खोप अभियानमा देखिएको सक्रियता र सरकारी अस्पतालको प्रशासनिक सुधारतर्फ देखिएको कडाइ, दीर्घकालीन सुधारको आधार बन्नसक्छ, तर यतिले मात्र पर्याप्त हुँदैन । मुलुकको स्वास्थ्य प्रणाली अझै धेरै सुधारको चरणमा छ । बिमा रिफरको झन्झटीलो, दुर्गम क्षेत्रका अस्पतालहरूमा जनशक्ति अभाव, अत्याधुनिक प्रविधिको कमी, सेवा सुलभतामा असमानता, निजी क्षेत्रको अनियन्त्रित विस्तारजस्ता चुनौती समाधान गर्न मन्त्री पौडेलले दीर्घकालीन योजना र स्पष्ट खाका प्रस्तुत गर्नुपर्नेछ । यस सन्दर्भमा जनताको अपेक्षा ठूलो छ । सरकारले लिएको ‘स्वास्थ्य सबैका लागि’ भन्ने नीतिलाई व्यवहारमा उतार्न निजी क्षेत्र, स्थानीय तह र संघीय सरकारबीच समन्वय अपरिहार्य छ । मन्त्री पौडेलको पहलले स्वास्थ्य क्षेत्रमा केही सकारात्मक संकेतहरू दिएका छन्, जुन निरन्तरता पाउन जरुरी छ ।

प्रकाशित मिति: शुक्रबार, साउन ९, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update