
पाल्पा, नेवार समुदायमा आज गथाँमुग पर्व अर्थात् घण्टाकर्ण चतुर्दशी मनाइँदै छ । दोवाटो र चौवाटोमा नर्कटको लि·ाकृति तीन खुट्टे गथाँमुग ठड्याई नेवार समुदायमा गथाँमुग पर्व मनाउने गरिन्छ ।
यो प्रत्येक वर्ष श्रावण कृष्ण चर्तुदशीका दिन मनाइने घण्टाकर्ण पर्वलाई काठमाडौं सहित पाल्पाका नेवार समुदायले भने गठेमंगल पर्वका रुपमा मनाउने गर्दछन् । यो पर्व नेवार समुदायले लुतो फाल्ने पर्वको रुपमा पनि मनाउने गर्दछन् । नेवार समुदायमा घर शान्तिको कामना गर्दै यो पर्व मनाउने गर्छन् । गठेंमंगाः पर्व अर्थात् घण्टाकर्ण नेवारहरूको मौलिक पर्व मध्येको एक हो । वर्षको चार वटा प्रमुख चतुर्दशी घण्टाकर्ण चतुर्दशी, बाला चतुर्दशी, तिहारको काग चतुर्दशी र शिवरात्रि चतुर्दशीमध्ये घण्टाकर्ण चतुर्दशी नेवार समुदायले मात्र मनाउने भएकाले यसलाई नेवार समुदायको मौलिक पर्वका रूपमा लिने गरिएको हो । यस दिनमा आफ्नो घर गृह शान्तिको कामना गर्दै आफ्ना परिवारलाई रोग व्याधि नलागोस् भनेर घण्टाकर्णको पूजा गरिन्छ । घर र परिवारलाई भूतप्रेत नलागोस् भनेर बौ वाय् ज्या (भूत मन्छाउने कार्य) यो पर्वको मौलिक परम्परा रहेको संस्कृतिविद्हरू बताउँछन् । आज तानसेनका नेवार समुदायले दोबाटो र चौबाटोमा नर्कटको तीनखुट्टे लिंगाकृति गठांमो ठड्याई घण्टाकर्ण पर्व मनाउँदैन् । हरेक वर्ष जस्तै यस वर्ष पनि तानसेनको शितलपाटी, बसपार्क तथा नारायणटोलमा घण्टाकर्ण राखिएका छन् ।
मानवता विरोधी राक्षसबाट मुक्ति पाएको सम्झनामा आजको दिन बिहानै स्नान गरी घरलाई सफा सुग्घर पारेर हरियो नर्कट, निगालो र गहुँको छ्वाली मिसाएर तीन खुट्टे राक्षस बनाई दोबाटो चौबाटोमा उभ्याइन्छ । राती राँको बालेर भूत भगाइन्छ र पुतलाका रुपमा बनाइएको घण्टा कर्ण राक्षसको मुखमा आगो लगाएर घिसार्दै खोला किनारमा पुर्याइन्छ । अश्लिल गाली र गीत गाउँदै मनोरञ्जन गरेर घण्टा कर्ण राक्षसलाई जलाइन्छ । यसरी परम्परा देखी नै अश्लिल शब्दहरूको प्रयोग गर्ने छुट रहेको किम्बदन्ती पाउन सकिन्छ । परापूर्व कालमा दोबाटो चौबाटोमा बसेर जे पायो त्यही खाने र बाटो हिंड्ने मानिससित जगत पैसा उठाई दुख दिने घण्टा कर्ण गठेम·ल नाम गरेको राक्षस मारिएको दिन सम्झेर यो पर्व मनाउने गरिएको देउराली सांस्कृतिक अध्ययन प्रतिष्ठान पाल्पाका अध्ययक्ष मदन देउरालीले बताए । आजैबाट बस्तीमा लामखुट्टे आउन समेत कम हुने जनविश्वास रहेको छ ।