Shittalpati
पाल्पाका शिव मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो

तानसेन (पाल्पा), आज साउन महिनाको पहिलो सोमबार । बिहानैदेखि पाल्पाका प्रसिद्ध धाम तथा शिव मन्दिरमा पूजाआजा एवं दर्शन गर्ने श्रद्धालु भक्तजनको घुइँचो लागेको छ । बिहान ४ बजेदेखि नै तानसेनको नारायणस्थान, तिनाउको दोभान सिद्धबाबा मन्दिर, बगनासकालीको बराङ्दीस्थित महामृत्युञ्जय शिवासन, सिद्धबाबा धाम तानसेनको ठुटेपीपल बद्रेश्वर शिवालय, बतासेडाँडा, प्रभास, नारायणस्थान, दमकडा, रामपुरलगायतका शिवालय मन्दिरमा भगवान शिवको पूजाआजा गर्ने भक्तजनको घुइँचो लागेको हो ।

मन्दिरमा भक्तजन बिहानदेखि पूजा एवं दर्शनका लागि लाइनमा बसेका छन् । साउन महिना र सोमबार भगवान् शिवजीको महिना र बार भएकाले पनि यस अवसरमा धेरै भक्तजनको भीड लाग्ने गरेको बताइएको छ । आज बिहानै स्नान गरी शिवालयमा पूजाआजा एवं दर्शन गरेमा मनोकांक्षा पूरा हुने, अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास भएकाले विशेष गरी यहाँका मन्दिरहरुमा महिला भक्तजनको भीड लागेको देखिन्छ ।

तानसेनको नारायणस्थान मन्दिर क्षेत्र विहानैदेखि पहेलो, रातो एवं हरियो पहिरनमा सजिएका भक्तजनले भरिभराउ छन् ।  यहाँ यस वर्षदेखि स्नान गर्न कालीगण्डकीको पानी समेत मन्दिर परिसरको पोखरीमा व्यवस्था गरिएकोले पनि भक्तजनहरुको भीड रहेको नारायण युवा क्लवका अध्यक्ष प्रविनराज शाक्यले बताए । क्लवको सहकार्यमा साउन १ गतेदेखि नै यहाँको १०८ गौमुखे धारा भक्तजनहरुका लागि खुला गरिएको छ । कालीगण्डकी नदीको पवित्र जल प्रयोग गरी भक्तजनलाई स्नानको व्यवस्था मिलाइएको अध्यक्ष शाक्यले बताए । उनका अनुसार साउन महिना भरी नै भक्तजनहरुको घुँइचो लाग्ने भएकाले तानसेन खानेपानी उपभोक्ता समितिसँग सहकार्य गरी कालीगण्डकीको पानीको व्यवस्था गरिएको हो । अध्यक्ष शाक्यले भने, “सबै भक्तजनहरुलाई स्नान गर्न कालीगण्डकी जान समय नहुन सक्छ, उहाँहरुका लागि हामीले लिफ्टिङ प्रविधिमार्फत ल्याइएको कालीगण्डकीको पवित्र जललाई १०८ धारामा जडान गरेका छौं । अब यहाँ स्नान गर्दा भक्तजनले कालीगण्डकीमा स्नान गरे सरह पुण्य प्राप्त गर्ने विश्वास छ ।” विगतमा मन्दिरमा आएर पुजा गर्ने र स्नानका लागि कालीगण्डकी  नदीमा जानुपर्ने बाध्यताको यसवर्षदेखि अन्त्य गरिएकाले नारायणस्थानमा भक्तजनको भीड लागेको क्लवका संस्थापक अध्यक्ष तथा नेपाली काँग्रेसका जिल्ला सभापति हिमालदत्त श्रेष्ठले बताए ।  

यस्तै सिद्धपुरुष भर्तृहरिको तपोभूमि तथा आदिमानव रामपिथेकसको विचरणस्थलका रूपमा परिचित सिद्धबाबा पुरातात्विक, धार्मिक एवं पर्यटकीय दृष्टिले महत्वपूर्ण भएकाले यहाँ श्रद्धालुको अलि बढी घुँइचो लागेको थियो । भक्तजनले सहज रूपमा मन्दिरमा पूजा तथा दर्शन गर्नसक्ने व्यवस्था मिलाइएको छ । यहाँ बिहानदेखि नै मूल मन्दिर खुला गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

यहाँ पाल्पासहित रुपन्देही, नवलपरासी, कपिलवस्तुबाटसमेत श्रद्धालु आएका छन् । यस्तै पहिलो सोमबारका अवसरमा बगनासकालीको बराङ्दीस्थित महामृत्युञ्जय शिवासनमा पनि पूजाआजा र दर्शन गर्नेहरूको घुँइचो लागेको छ । यता प्रभासमा पनि बिहानैदेखि भक्तजन लाइनमा बसेर पूजा गरिरहेका छन् ।

विवाहित महिलाले श्रीमानको दीर्घजीवनको कामना र अविवाहित महिलाले योग्य वरको कामना गर्दै साउने सोमबारको व्रत बस्ने प्रचलन रहेको छ । सुख, शान्ति एवं समृद्धिका लागि साउन महिना र सोमबार सबैले शिवको उपासना गर्नुपर्ने शास्त्रीय वचन धार्मिक ग्रन्थमा रहेको छ । यस वर्ष साउनमा चार वटा सोमबार परेको छ ।

 

प्रकाशित मिति: सोमबार, साउन ५, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update