
गुल्मी, जिल्लाको रुरुक्षेत्र गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा लगाइएको ताला पाँच दिनपछि खुलेको छ । ३० असारदेखि नेकपा एमाले रुरुक्षेत्र गाउँकमिटीले लगाएको ताला शुक्रबार नेपाली काँग्रेस रुरु क्षेत्र गाउँपालिकाको समन्वयमा खुलाइएको हो ।
तालाबन्दीले कार्यालयको सेवा प्रवाहमा लगातार बाधा पुगिरहेको जनाउँदै काँग्रेसले जिल्ला सुरक्षा समितिलाई ताला खोली सेवा प्रवाहमा सहजता बनाईदिन आग्रह गरेपछि समितिको निर्णयअनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरी बल गुल्मीले सुरक्षा प्रदान गरेर गाउँपालिकाका कर्मचारीले तालाबन्दी खोलेका हुन् ।
काँग्रेसले पटक–पटक आन्दोलनरत पक्षसँग छलफल गरे पनि ताला नखुलेपछि विहीबार जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाई तत्काल ताला खुलाई पालिकाको सेवा प्रवाह सुचारु गर्न आग्रह गरेको थियो । काँग्रेसको आग्रहलाई सहजै स्वीकार गरी जिल्ला सुरक्षा समितिले ताला खोल्ने निर्णय गरी खुला गरिएको काँग्रेस रुरुक्षेत्र गाउँपालिकाका कार्यवाहक सभापति मधु ज्ञवालीले बताए । उनका अनुसार, जनताको सेवा प्रवाह प्रभावित भएकाले जिल्ला प्रशासन, स्थानीय सुरक्षाकर्मीको सहकार्यमा ताला खोलिएको हो ।
विद्यालयमा डिजिटल बोर्ड खरिद गर्ने विषयमा नीतिगत त्रुटि भएको र खरिद भइसकेका बोर्डको भुक्तानी नभएको भन्दै आन्दोलनरत पक्षले तालाबन्दी गरेको थियो । यस विषयमा रुरुक्षेत्रमा गाउँपालिकाले गलत गर्ने कुनै नियत नभएको र प्रक्रिया पूरा नभई विद्यालयमा जडान गरेका डिजिटल बोर्डको भुक्तानी नभएको जनाएको थियो । यससम्बन्धी संवैधानिक निकायबाटै अनुसन्धान भइरहेको विषयमा तालाबन्दी गर्नु गलत भएको रुरुक्षेत्र गाउँपालिका प्रवक्ता हरिप्रसाद ज्ञवालीले प्रेस विज्ञप्तिमार्फत जानकारी गराएका थिए ।
रुरुक्षेत्र गाउँपालिका अध्यक्ष यदु ज्ञवाली र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले कार्यालयको प्रतीक्षालय र गाउँगाउँमा पुगेर प्रदान गर्नुपर्ने सेवा प्रवाह गरिरहेका थिए । यस विषयमा शुक्रबारमात्रै पनि निजामती कर्मचारी आबद्ध गुल्मीस्थित सम्पूर्ण संगठनहरूले पनि यथाशीघ्र ताला खोल्न भन्दै जिल्ला प्रशासन कार्यालय गुल्मीमा ज्ञापनपत्र बुझाएका थिए ।