Shittalpati
तानसेनमा ‘कोरा साइक्लिङ च्यालेञ्ज’ : यात्रामा निस्किए उत्साहजनक रुपमा साइकलयात्री  

तानसेन (पाल्पा), साइकल प्रेमीहरुको महोत्सवका रूपमा मनाइँदै आएको कोरा साइक्लिङ च्यालेञ्ज २०२५ पाल्पाको तानसेनमा आयोजना गरिएको छ । पाल्पा साइक्लिङ संघको आयोजनामा शनिबार तानसेनको टुँडिखेलबाट उक्त च्यालेञ्ज सुरु भएको हो ।

पाल्पालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साइक्लिङ गन्तव्य बनाउने उद्देश्यले ५५ किलोमिटर लामो ‘दोस्रो कोरा पाल्पा साइकलिङ च्यालेञ्ज–२०२५’ सुरु भएको छ । तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले साइकल चलाएर च्यालेञ्जको शुभारम्भ गरेका छन् । ‘कोरा  साइकलिङ च्यालेञ्ज’ले नेपाललाई विश्वमा चिनाउन मद्दत गर्नुका साथै पर्यटकीय विकासमा ठूलो टेवा पु¥याउँदै आएको नगर प्रमुख श्रेष्ठले बताए । सफलतापूर्वक सञ्चालन हुँदै आएको यस च्यालेञ्जले साइकल यात्रीलाई प्रोत्साहन गर्नुको साथै यहाँको प्राकृतिक सौन्दर्यतालाई नियाल्दै ग्रामीण पर्यटकीय प्रवद्र्धनमा टेवा पुर्‍याएको उनले चर्चा गरे ।

विहान ८ बजेदेखि टुँडिखेलबाट निस्केको साइकल र्‍याली दरबार परिसरमा गई यात्रा सुरु गरेको थियो । त्यहाँबाट बतासेडाँडा, भैरवस्थान मन्दिर, जलेश्वर मन्दिर, वयदर राडर टावर, डुम्रे, प्रभास हुँदै जिल्लाका विभिन्न स्थान परिक्रम गरि पुन:पाल्पा दरबार परिसरमा आएर कार्यक्रम समापन हुने  संघका सदस्य शान्ता थैवाले जानकारी दिए ।

संघले गत वर्ष दुई दिने ‘हेरिटेज राइड–२०८१’ सञ्चालन समेत गरेको थियो । यस वर्ष  दिस इज नट अ रेस, एभ्रीवन इज अ उइनर’ भन्ने नाराका साथ दोस्रो कोरा पाल्पा साइकलिङ च्यालेञ्ज–२०२५ सुरु गरिएको संघका अध्यक्ष रूपेश महर्जनले बताए । उनले भने, “पाल्पामा दोस्रो  पटक व्यवस्थित ढङ्गले कोरा आयोजना गरेका हौं । यसले यहाँको पर्यटन, स्वास्थ्य, र वातावरणीय सचेतनामा नयाँ ऊर्जा ल्याउने छ ।” यो वर्षको कोरा यात्रा ऐतिहासिक र प्रभावशाली हुने विश्वास लिइएको उनको भनाई छ ।

 कार्यक्रममा ७० जना साइक्लिङ्ग सहभागी रहेका संघका उपाध्यक्ष अमनकाजी शाक्यले बताए । कार्यक्रममा सहभागी हुने साइकल यात्रीहरुले यहाँका विभिन्न प्रमुख धार्मिक स्थलहरु तथा पर्यटकीय स्थलहरुलाई घडीको दिशामा परिक्रमा गरी ५५ किलो मिटरको यात्रा पुरा गर्ने उनको भनाई छ । स्वास्थ्यका लागि साईक्लिङ्गको महत्व बुझाउन, धार्मिक स्थलहरूको प्रचार र यहाँका पर्यटकीय क्षेत्रको प्रर्वद्धन गर्न कोरा साइक्लिङ च्यालेञ्ज महत्वपूर्ण हुने उपाध्यक्ष शाक्यले विश्वास लिए । उनले भने, “कोरा केवल साइकल यात्रुहरूको जमघट  मात्र होइन, यो समाजका लागि योगदान गर्ने एक महान अवसर  पनि हो । पाल्पावासीहरूको उत्साह देख्दा हामी अत्यन्त उत्साहित छौं ।” यात्राका क्रममा कुनै स्वास्थ्य समस्या आए स्वास्थ्यकर्मीको टिम समेत तयारी अवस्थामा राखिएको संघका सचिव विज्ञान ब्रजाचार्यले बताए । 

प्रकाशित मिति: शनिबार, साउन ३, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update