Shittalpati
पाल्पा उद्योग वाणिज्य संघमा विवाद 

पाल्पा,  जिल्लाका उद्योगी व्यवसायीहरुको छाता संगठन  पाल्पा उद्योग वाणिज्य संघमा विवाद सिर्जना भएको छ । संघको निर्वाचन नजिकिदै जाँदा सदस्यता थप्ने क्रममा हानथाप भएपछि संघ भित्र विवाद चर्किएको हो ।

 नेपाली काँग्रेस निकट व्यवसायीहरुको बाहुल्यता रहेको संघमा अहिले दुई समुहबीच दिनहुँ  टसल भइरहेको छ । विगत चार महिनादेखि संघ भित्र  विवाद हुँदै आए पनि अहिले आएर विवाद बाहिर आएको हो । पदाधिकारीहरुबिच  नै विवाद सिर्जना भएको छ । 
  संघका अध्यक्ष शैलेन्द्र भट्टराई, उपाध्यक्षहरु भीमबहादुर श्रेष्ठ, उत्तम बज्राचार्य, महासिचव समीरमान सिंह, कोषाध्यक्ष विनायक महर्जन र सचिव विदुर घिमिरे दुई समूहमा विभाजित भएका छन् । उनीहरु मध्ये नेतृत्वका पक्षमा सचिव घिमिरे मात्रै खुलेर लागेका छन् भने, अरु सबै पदाधिकारी अध्यक्षका विपक्षमा उभिएका छन् । ५१ प्रतिशत नेतृत्व ईतरपक्षमा खुलेर उभिएका छन् भने ४९ प्रतिशत हालको नेतृत्वको पक्षमा छन् । 

विवादका कारण पूर्वअध्यक्षहरु समेत विभाजित भएका छन् । पूर्वअध्यक्षहरु हरि रायमाझी, मधुदयाल शैजु, मोहन प्रसाद श्रेष्ठ, निर्वतमान अध्यक्ष राजुमहर्जन दुई खेमामा विभाजित भएको देखिन्छ ।  विवाद चुलिदै गएपछि केही दिन अघि जिल्ला प्रशासन कार्यालय पाल्पामा प्रमुख जिल्ला अधिकारी सामु उजुरी परेको थियो । उजुरीमा नेतृत्वले मनोमानी गरेको आरोप लगाइएको छ । नेतृत्वले भने संघमा कुनै मनोमानी नभएको तर आफु विधान अनुसार चल्न खोज्दा विवाद सिर्जना भएको दावी गरेको छ ।  संघका अध्यक्ष शैलेन्द्र भट्टराईले केही संघका नेताहरुले  विधानमा भएको व्यवस्थालाई लत्याएर अगाडि बढ्न खोज्दा विवाद सिर्जना भएको बताए ।  उनले भने “ केही साथीहरु विधान विपरितका गतिविधिहरु गर्न खोज्नुभएको थियो, मैले त्यसो हुन नदिदा स्वार्थपुर्ति गर्न नपाएपछि उजुरी र बैंठक बहिस्कार जस्ता गैरजिम्मेवारपूर्ण गतिविधि भए । ” व्यवसायिक संस्थामा सबैको अस्तित्वलाई स्वीकार गरेर अगाडि बढ्नुपर्ने माग आफुहरुको रहेको पूर्व अध्यक्ष मोहन प्रसाद श्रेष्ठले बताए  ।

चार महिनादेखिको विवादले संघको दैनिक कामकाज समेत लथालिङ्ग भएको छ । दुवै समूहको आ–आफ्नो स्वार्थको कारण आफूहरू मारमा परेको व्यापारीहरूले बताएका छन् । उद्योग वाणिज्य संघको नेतृत्व हत्याउने उद्देश्यले एक अर्कामा आरोप–प्रत्यारोप गरिरहेकाहरूले आफुहरुको हित नगर्ने व्यापारीहरुको भनाई छ । 

प्रकाशित मिति: शनिबार, साउन ३, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update