
पाल्पा, नेकपा एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच पार्टी एकता भएको छ । शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमबीच दुई पार्टीबीच एकता घोषणा भएको हो । दुई पार्टीका अध्यक्षहरू माधवकुमार नेपाल र वामदेव गौतमबीच गत शुक्रबार पार्टी एकता गर्ने सहमति पत्रमा हस्ताक्षर भएको थियो । एकीकृत समाजवादीमा गौतमलाई वरिष्ठ नेताको जिम्मेवारी दिने त्यतिबेलै सहमति भएको थियो । सोहीअनुसार एकता घोषणा भएको हो ।
अब पार्टीमा अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र वरिष्ठ नेताका रुपमा वामदेव गौतम हुनेछन् । दुवै पक्षका नेताहरुले पार्टी एकतालाई वामपन्थी एकताका लागि महत्वपूर्ण योगदान गर्ने बताएका छन् ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले नेकपा एमालेसँग पार्टी एकताको कुनै सम्भावना नरहेको बताए । उनले भने,“त्यहाँभित्रको अवस्था हामीले देखेका छौँ । कसैको लसपस छ भने आसाअपेक्षा छ भने मेरो भन्नु केही छैन् । तर यो पार्टीसँग उसको सम्बन्धको कुरा गर्नु हुन्छ भने उसका नेताको अभिव्यक्तिले नै प्रष्ट पारिसकेको छ कि यो पार्टीलाई कसरी सिद्ध्याउने, यो पार्टीलाई कसरी समाप्त पार्ने । त्यसका लागि कुन–कुन तरिका अपनाउने, कहाँ प्रहार गर्ने यी सबै कुरा उनीहरूले भनिरहेको गरिरहेकोबाट हामीले बुझिसकेको छौँ ।” अध्यक्ष नेपालले कुनै पनि हिसाबले एमालेसँग पार्टी एकताको भ्रममा नपर्न आग्रह गरेका छन् । उनले एकता राष्ट्रिय अभियानसँगको एकताले पार्टीलाई बलियो बनाउन कसैले रोक्न नसक्ने बताए ।
वामदेव गौतमले नेपालमा कम्युनिष्ट पार्टी एउटै निर्माण गर्नुपर्ने बताए । उनले भने, “आज म एक्लै आएको छैन । एक्लै आउँदा कहिल्यै पनि सफल भइन । चार वर्ष लाग्यो । त्यसो भएर आज म नेकपा एकता राष्ट्रिय अभियान बोकेर आएको छु । धेरै कमरेडहरुलाई सँगै ल्याएको छु । नेपालमा कम्युनिष्ट पार्टी एउटै निर्माण गर्नुपर्छ । छरिएर रहेका कम्युनिष्ट पार्टीलाई एकतावद्ध गर्नुपर्छ ।”