Shittalpati
आइतबारदेखि भारी वर्षाको प्रक्षेपण  

पाल्पा, आइतबारदेखि नेपालमा भारी वर्षा सुरु हुने मौसमविद्हरुले पूर्वानुमान गरेका छन् । अहिले भारतको उत्तरप्रदेशतर्फ रहेको मनसुनी रेखा नेपालतिर सर्ने र त्यसको प्रभावले सोमबारसम्म देशभर नै भारी वर्षा हुने उनीहरुले प्रक्षेपण गरेका हुन् ।

शुक्रबार र शनिबार दिउँसोसम्म अवस्था सामान्य नै रहे पनि शनिबाररातिदेखि मनसुन सक्रिय हुने सम्भावना रहेको मौसमविद्हरुको भनाई छ । पानी पार्ने प्रणाली पूर्वबाट पश्चिमतिर सर्दै जाने र देशभर वर्षाको मात्रा बढ्ने पूर्वानुमान गरिएको छ ।

यसअघि बंगालको खाडीमा उत्पन्न भएको न्यूनचापीय प्रणाली भारतको उडिसा हुँदै नेपालतर्फ सरिरहेको थियो । त्यसको प्रभावले सुक्खाको मारमा परिरहेको मधेश प्रदेशका जिल्लामा पनि राम्रै वर्षा गराउने पूर्वानुमान गरिएको थियो । वर्षाको मात्रा बढ्दा बाढी पनि आउन सक्ने भन्दै मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले काठमाडौं उपत्यकासहितका ३६ जिल्लामा बाढीको मध्यम जोखिम हुनसक्ने भनेर ‘एलो अलर्ट’ जारी गरेको थियो । तर त्यो प्रणाली मध्य बिहार हुँदै भारतको इलाहाबादतर्फ गएको थियो । त्यसको बादलको बाहिरी घेराले मात्र छोएकाले तराई मधेशका केही जिल्लामा हल्का मात्र वर्षा गराएको थियो । केही गाउँमा भने बादल मात्र लागेको थियो ।अहिलेको नयाँ प्रणाली भने अलि शक्तिशाली हुने अनुमान मौसमविदले गरेका छन् । सोमबारसम्म देभभर नै भारी वर्षा हुने भएकाले सचेत रहन  मौसम पूर्वानुमान महाशाखाले सबैलाई आग्रह समेत गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन २, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update