Shittalpati
पाल्पामा भोली ‘कोरा साइक्लिङ च्यालेञ्ज’ हुँदै, तयारी पुरा

पाल्पा, पाल्पामा भोली ‘कोरा साइक्लिङ च्यालेञ्ज’ हुने भएको छ । पाल्पा साइक्लिङ संघको आयोजनामा साइकल पर्यटनबारे जानकारी होस् भन्ने उद्देश्यका साथ जिल्लाका धार्मिक पर्यटकीय क्षेत्रलाई समेट्ने गरि ‘कोरा साइक्लिङ च्यालेञ्ज’ हुन लागेको हो ।

संघले गत वर्ष दुई दिने ‘हेरिटेज राइड–२०८१’ सञ्चालन गरेको थियो ।  यस वर्ष भने कोरा २०२५ सञ्चालन गर्न लागिएको संघका अध्यक्ष रूपेश महर्जनले जानकारी दिए । दिस इज नट अ रेस, एभ्रीवन इज अ उइनर’ भन्ने नाराका साथ हुन लागेको कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको उनले बताए ।  कोराको आधिकारिक टी–शर्ट सार्वजनिक गर्दै अध्यक्ष  महर्जनले भने, “पाल्पामा दोस्रो  पटक व्यवस्थित ढङ्गले कोरा आयोजना गर्न लागिएको हो । यसले यहाँको पर्यटन, स्वास्थ्य, र वातावरणीय सचेतनामा नयाँ ऊर्जा ल्याउने छ ।” यो वर्षको कोरा यात्रा ऐतिहासिक र प्रभावशाली हुने विश्वास लिइएको उनको भनाई छ ।

कुनै पनि पवित्र तीर्थस्थललाई तीर्थ यात्रीहरुले घडीको सुईको दिशामा परिक्रमा गर्नुलाई ‘कोरा’ भनिन्छ । कार्यक्रममा ६० जना साइक्लिङ्ग सहभागी हुने संघका उपाध्यक्ष अमनकाजी शाक्यले बताए । कार्यक्रममा सहभागी हुने साइकल यात्रीहरुले यहाँका विभिन्न प्रमुख धार्मिक स्थलहरु तथा पर्यटकीय स्थलहरुलाई घडीको दिशामा परिक्रमा गरी ५५ किलो मिटरको यात्रा पुरा गर्ने उनको भनाई छ । कोराको शुभारम्भ तानसेनस्थित पाल्पा दरबार संग्रहालय अगाडिबाट गरिने उपाध्यक्ष शाक्यले बताए । विहान ७ बजे सुरु हुने कार्यक्रमको औपचारिक प्रारम्भ भने टुँडिखेलबाट हुने छ । टुँडिखेलबाट निस्कने र्‍याली दरबार परिसरमा गई यात्रा सुरु हुने उनको भनाई छ । त्यहाँबाट बतासेडाँडा, भैरवस्थान मन्दिर, जलेश्वर मन्दिर, वयदर राडर टावर, डुम्रे, प्रभास हुँदै जिल्लाका विभिन्न स्थान परिक्रम गरि पुन :  पाल्पा दरबार परिसरमा आएर कार्यक्रम समापन हुनेछ ।

स्वास्थ्यका लागि साईक्लिङ्गको महत्व बुझाउन, धार्मिक स्थलहरूको प्रचार र यहाँका पर्यटकीय क्षेत्रको प्रर्वद्धन गर्न कोरा साइक्लिङ च्यालेञ्ज महत्वपूर्ण हुने उपाध्यक्ष शाक्यले विश्वास लिए । उनले भने, “कोरा केवल साइकल यात्रुहरूको जमघट  मात्र होइन, यो समाजका लागि योगदान गर्ने एक महान अवसर  पनि हो । पाल्पावासीहरूको उत्साह देख्दा हामी अत्यन्त उत्साहित छौं ।” कार्यक्रममा सहभागी हुनेलाई रजिस्टेसनमार्फत ५ सय लिने व्यवस्था रहेको छ ।  पाल्पा जेसिज, दी फेमस महिन्द्र दल गण, एक्सेस एजुकेसन नेटवर्क प्रालि लगायतका संस्थाहरुको कार्यक्रममा सहयोग रहने छ । मिडिया पाटर्नरका रुपमा नवजनचेतना राष्ट्रिय  दैनिक, शितलपाटी डटकम, युनिक एफएम र एभिन्यूज  टेलिभिजन रहेका छन् ।  

 

प्रकाशित मिति: शुक्रबार, साउन २, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update