Shittalpati
सवारी मर्मत केन्द्रका सञ्चालक र मेकानिकलाई ट्राफिक सचेतना

पाल्पा, जिल्लामा सवारी मर्मत केन्द्रका सञ्चालक र मेकानिकलाई ट्राफिक सचेतना दिइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले  यहाँ सञ्चालित सवारी मर्मत केन्द्रका सञ्चालक र मेकानिकहरुलाई ट्राफिक सचेतना तालिम दिएको हो ।

ट्राफिक प्रहरीले यहाँको तानसेन– ७ प्रभाष र तिनाउ –३ झुम्सामा सञ्चालित सवारी मर्मत केन्द्रका सञ्चालक र मेकानिकलाई सचेतना दिइएको ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रविण आचार्यले बताए । उनका  अनुसार तिनाउमा ५५ जना र तानसेनमा ४० जनालाई ट्राफिक सचेतना दिइएको थियो । उनीहरुलाई चोरी गरिएका सवारी मर्मत नगर्न, आफ्नो व्यवसाय सम्बन्धित निकायमा दर्ता गरेर मात्र सञ्चालन गर्न, सडकसम्मै आउने गरी र सडकमा हिँडेका सवारीलाई बाधा हुने गरि मर्मत केन्द्र सञ्चालन नगर्न सचेत गराइएको छ । कार्यक्रममा ट्राफिक प्रमुख आचार्यले ट्राफिक नियम पालना गर्न र गराउन सवारी मर्मत केन्द्र र मेकानिकहरुले महत्वपुर्ण भुमिका निर्वाह गर्न सक्ने बताए । सवारी साधन मोडिफाई गर्दा ट्राफिक नियम उल्लंघन नहुने गरि गर्न समेत प्रमुख आचार्यले  उनीहरुलाई आग्रह गरे । तालिममा सडक दुर्घटना भएमा ट्राफिकलाई नकुरी गाडी नम्बर टिपेर घाईतेहरुको तत्काल उद्धार गर्ने, गाडीका यात्रुले गर्ने बोमिट लगाएतका फोहर गाडीभित्रै व्यवस्थापन गर्नेलगाएतका विषयमा सहजिकरण गरिएको थियो ।

तानसेन नगरपालिका वडा नं. ७ का वडाध्यक्ष प्रदीप खनालले ट्राफिक कार्यालयले दुर्घटना न्यूनिकरणका लागि स्थानीय सरकारसँग समन्वय गरेर सचेतना तालिम सञ्चालन गर्नु सकारात्मक विषय भएको बताए । खनालले सार्वजनिक सुनुवाइको आयोजना गरेर नागरिकहरुले प्रहरीलाई सुझाव दिने अवसर सिर्जना गरेकोमा जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई धन्यवाद  दिए । तिनाउ गाउँपालिका –३ का वडाध्यक्ष चित्रबहादुर थापाले स्थानीय तहको समन्वय र सहकार्यमा सबै नागरिकहरुलाई ट्राफिक सचेतनालाई निरन्तरता दिइने बताए । ट्राफिक कार्यालयले दुई स्थानमा सार्वजनिक सुनुवाइ समेत गरेको थियो । सार्वजनिक सुनुवाइमा ट्राफिक प्रहरी सम्बन्धी गुनासो सुनुवाइ र त्यसको सम्बोधन गरिएको थियो ।कार्यक्रममा सवारीहरुको तिब्र गति, प्रेसर हर्न, चालक तथा सहचालकहरुको मादक पदार्थ र लागुपदार्थ सेवन, आरक्षण सिट, सवारी साधनहरुमा सामान ढुवानी गर्दा यताउती खस्ने, सार्वजनिक सवारी साधनमा डस्ट बीन राख्ने, काईला तथा चुनढुङ्गा बोक्ने टिप्परहरुले बाटोमा खसाल्ने, गस्ती बढाउनुपर्ने लगाएतका विषयमा नागरिकहरुले चासो राखेका थिए । तिलोत्तमा माध्यमिक विद्यालयका शिक्षक शिव पाण्डेयले ट्राफिक प्रहरी कार्यालयले गर्ने यस्ता खालका सचेतना तालिम र सार्वजनिक सुनुवाइले नागरिक र प्रहरी बीचको सम्बन्ध प्रगाढ हुने भन्दै ट्राफिक नियमको पालना र दुर्घटना न्यूनिकरणमा महत्वपूर्ण भूमिका खेल्ने बताए । पाण्डेयले यस्ता खालका कार्यक्रम जिल्लाका सबै स्थानमा हुनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति: शुक्रबार, साउन २, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update