
ज्योतिषी...मुकुन्द पोखरेल
हाम्रा पुर्वजहरूले हिमालयका काखमा हजारौं वर्ष विचरण गर्दा प्राप्त गरेका कतिपय तात्विक ज्ञानलाई अनेकौं भाषा र संकेतका रूपमा पुस्तौँपुस्ता हस्तान्तरण हुँदै आएका हुन् । त्यस्ता संकेतक चाहे खसान क्षेत्रतर्फ होस् वा माँझ किराँत क्षेत्रका गुफा कन्दराहरूमा किन नहोस् । प्राचीन ऐतिहासिक मठ(मन्दिरमा प्रयोग भएका निर्माण सामग्री नै किन नहोस् । नेपालको भूगोल, इतिहास, वास्तुपुरुषको अवस्था, भौगोलिक अवस्थिति, देशको प्राचीन ऐतिहासिक परिघटना, समसामयिक घटना आदिलाई वैचारिक तर्कसंगत मन्थन गरेर प्रयोग र प्राप्त गरिने वास्तुको ज्ञानले मात्र वास्तविक वास्तुदोष निवारण गर्न सकिन्छ । वास्तुदोष मुक्त भएर बाँच्न सकिन्छ। नेपालको भूगर्भमा रहेका प्लेटहरूको घर्षणले उत्पन्न हुने भूकम्पीय जोखिमको नजरअन्दाज गर्दै अहिले कुनैपनि क्षेत्रमा निर्माणकार्य गरिन्छ, जसले हराभरा उर्वर भूमिलाई सदा(सदाका लागि हत्या गरिन्छ। बाँझो बनाइन्छ। भूत, भविष्य र वर्तमानलाई बुझ्न नसकेर अव्यवस्थित प्राकृतिक स्रोतको दोहन गरिन्छ । बलात्कृत हुन्छिन् पृथ्वीमाता । फलस्वरूप अनावृष्टि, अतिवृष्टि, भूकम्प, भूक्षय आदि प्रकोपबाट मानव समुदाय पीडित बन्न पुग्दछ । यस्ता आपतहरू देखा पर्न थालिसकेका छन् ।
प्राकृतिक तथ्यहरू साश्वत सत्य हुन् । प्राकृतिक स्रोतको सर्ग(निसर्ग पनि साश्वत् सत्य नै हो। यहाँ असत्य भनेर दुष्प्रचार गरिन्छ । पण्डितहरूले वा वास्तुविज्ञहरूले अनेकौ गुण दोषको परिचर्चा गर्ने गरेको सुनिन्छ । गुणको अधिक बखान गरे पनि दोषको निवारण गर्न चाहँदैनन् । तर वास्तुशास्त्रमा दोष निवारणका धेरै उपायहरू छन् । वास्तुशास्त्र संस्कृत भाषामा रहेको हुनाले संस्कृति र संस्कृत भाषाको अध्ययनविना यो शास्त्रको गहिराईमा पुग्न कठिन छ। तसर्थ संस्कृत वाङ्मय र साहित्यको राम्रोसँग अध्ययन गरेर मात्र वास्तुविद्हरूले वास्तुशास्त्रको परामर्श दिनु राम्रो हुन्छ ।
सामान्य रूपमा दश दिशाको व्यवहार कर्मकाण्डीय पद्धतिमा भए पनि वास्तु सिद्धान्तानुसार घर बनाउँदा पूर्व, आग्नेय, दक्षिण, नैऋत्य, पश्चिम, वायव्य, उत्तर, ईशान गरी आठ दिशा हुन्छन् । तर आठ दिशा र विदिशामध्ये नै घडेरीको मुख पर्दछ। घडेरीको दोष पनि यिनै आठ दिशाविदिशामा आधारित रहन्छ ।