
पाल्पा, सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ । सूर्यले मिथुन राशिको भोग पूरागरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रुपमा मनाउने प्राचीन परम्परा छ ।
साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुुरु हुन्छ । माघ १ गते सुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायन सुरु हुने दिनलाई विशेष रुपमा मनाइन्छ । असार महिनाभर धान रोपाइँलगायत खेतीपातीमा व्यस्त किसानले आजको दिन हिलोमैलो पखाल्ने तथा हिलोमैलोका कारण छालासम्बन्धी रोग नलागोस् भनेर ‘लुतो फाल्ने’ चलन पनि छ । हिलोमैलोले लाग्ने छालासम्बन्धी रोग ठिक गर्न लुतो फाल्ने गरिएको धर्मशास्त्रीविदको भनाइ छ । परम्परानुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रुपमासमेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फालिन्छ । लुतो फाल्दा आ–आफ्नो कुल परम्परानुसार नाङ्लो ठटाउने, शंख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन नेपाली समाजमा छ ।
साउने संक्रान्तिका दिन कण्डारक नाम गरेको रात्रिचर (राति हिँड्ने) को पूजा गरी बलेको अगुल्टो फालेपछि बर्खाभर खेतबारीको काम गर्दा लागेको छालाको रोग, खटिरा, लुतो आदि निको हुने शास्त्रीय मान्यता रहेको छ । सोही मान्यता अनुरुप नेपाली समाजमा लुतो फाल्ने चलन चलिआएको हो । प्रत्येक वर्ष साउने संक्रान्तिको साँझ यस्तो चलन खासगरी ग्रामीण पहाडी भेगमा अद्यापी छ । –लोकोक्ति अनुसार केटाकेटीलाई दुःख दिने रातमा हिंड्ने कण्डारक नामको राक्षसलाई मन्सिएर भगाउन बलिरहेको अगुल्टो घरको चारैतिर लुतो लैजा भनेर कराउँदै फालिन्थ्यो । त्यही परम्परा लुतो फाल्ने चलनका रूपमा कायम रहेको हो । तर हिजो आज भने यो चलन विस्तारै बिर्सिदै जान थालिएको छ । पुराना पुस्ताका व्यक्तिहरुले जसोतसो यो चलन धान्दै आए पनि नयाँ पुस्ताका व्यक्तिहरुमा भने कुनै चासो छैन । मेरो लुतो लैजा भन्दै आँगोको राँको फाल्ने गरेको सम्झना बगनासकालीको यम्घाकी ७० वर्षीया भीमा ढकाललाई अहिले पनि ताजै छ । लुतो फाल्ने भनेपछि दिनभर साथीभाइ जम्मा भएर भलायो, कुकुरडाइनो, लुतेझार, पानीसरो, रातपाते जस्ता वनस्पतिहरु खोजेर ल्याइन्थ्यो र घरको पूर्व, पश्चिम, उत्तर, दक्षिण चारैतिर ति वनस्पती राखिन्थ्यो, साँझा घर छेउबाट आगाको अगुल्टो फाल्दै पल्लो गाउँकाहरुलाई मेरो लुतो लैजा भन्दै, चिच्याइन्थ्यो’, उनले भनिन्, “अचेलकालाई त्यसको महत्व नै थाहा छैन ।” साउन महिनालाई विशेषरुपमा भगवान् शिवको पूजा गरेर मनाइन्छ । महिलाले हरियो चुरालगायत कपडा लगाएर प्रकृतिसँग नजिक भएको देखाउने गरिएको छ । साउन महिनाभर देशभरका शिवालय विशेषगरी पशुपतिनाथ मन्दिरमा भक्तजनको विशेष भिड लाग्छ । साउन महिना शिवजीको र सोमबारलाई शिवको बार भनिन्छ । देशभरका शिवालयमा आज बिहानैदेखि भक्तजनहरुको घुइँचो लागेको छ ।