
पाल्पा, यहाँको तानसेनस्थित अमर नारायण मन्दिर परिसरमा रहेको १०८ गौमुखे धारा भोलीदेखि भक्तजनहरुका लागि खुला गरिएको छ । साउन महिनाको व्रत प्रारम्भसँगै भक्तजनका लागि धारा खुला गरिएको हो ।
यहाँ पानीको व्यवस्था नहुँदा धारा निरन्तर रुपमा सञ्चालनमा आउन नसकेको अवस्थामा सामाजिक कार्यक्रममा सक्रिय रहँदै आएको नारायण युवा क्लवले तानसेन खानेपानी उपभोक्ता समितिको सहकार्यमा भक्तजनहरुलाई लक्षित गरी साउन १ गतेदेखि धारा खुला गरिएको जनाएको छ । कालीगण्डकी नदीको पवित्र जल प्रयोग गरी भक्तजनलाई स्नानको व्यवस्था मिलाइएको क्लबका अध्यक्ष प्रविनराज शाक्यले बताए । उनका अनुसार साउन महिना भरी नै भक्तजनहरुको घुँइचो लाग्ने भएकाले खानेपानी उपभोक्ता समितिसँग सहकार्य गरी कालीगण्डकीको पानीको व्यवस्था गरिएको हो ।
अध्यक्ष शाक्यले भने, “सबै भक्तजनहरुलाई स्नान गर्न कालीगण्डकी जान समय नहुन सक्छ, उहाँहरुका लागि हामीले लिफ्टिङ प्रविधिमार्फत ल्याइएको कालीगण्डकीको पवित्र जललाई १०८ धारामा जडान गरेका छौं । अब यहाँ स्नान गर्दा भक्तजनले कालीगण्डकीमा स्नान गरे सरह पुण्य प्राप्त गर्ने विश्वास छ ।”
भक्तजनहरुको सहजताका लागि क्लवले तानसेनमै कालीगण्डकीको जल स्नानको व्यवस्था गरेको क्लवका संस्थापक अध्यक्ष तथा नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले बताए । उनले भने “हामीले ऐतिहासिक अमर नारायण मन्दिरको प्रचार–प्रसार गर्नुको साथै पुरानो र जिर्ण अवस्थाममा रहेको पोखरीलाई धार्मिक आस्थाका रुपमा विकास गर्ने गरी १०८ गौमुखे धारा जडान गरी विभिन्न समयमा भक्तजनहरुलाई स्नान गर्ने वातावरण मिलाइएको छ ।”
साउन महिनाभर शिवलिङ्गमा नियमित पूजाआजा तथा विशेष अनुष्ठान सञ्चालन हुने भएकाले भक्तजनहरुका लागि क्लवले कालीगण्डकीको जलको व्यवस्था गरेर पुण्य कार्य गरेको अमर नारायण मन्दिर भजन मण्डलीका अध्यक्ष सरस्वती शर्माले बताइन् ।