
गुल्मी, जिल्लाको मुसीकोट नगरपालिका ७ वामीटक्सारको बसपार्कमा रहेको सार्वजनिक शौचालय व्यवस्थापन नहुँदा बाटो हिड्ने यात्रुलाई समस्या भएको छ ।वि.स.२०७० सालमा पश्चिम नेपाल खानेपानी तथा सरसफाई परियोजना तम्घासको सहयोग र सालिमे सिर्जनशील विकास मञ्चको पहलमा निर्माण भएको शौचालय व्यवस्थापन नहुँदा बाटो हिड्ने यात्रु शौचका लागि समस्यामा परेका छन् ।
शौचालय वारिपरी फोहोर र भित्र पनि सफा नहुँदा शौच गर्न जानेहरुका लागि समस्या भएको हो । तीन लाख बढी आर्थिक सहयोगमा सार्वजनिक शौचालय निर्माण भएको थियो । दुईकोठा रहेको शौचालयको व्यवस्थादपन नहुँदा अहिले यत्तिकै थन्किएको स्थानीयहरुले बताएका छन् । शौचालय निर्माण भएपछि पछिल्लो समय त्यसको व्यवस्थापनका लागि रेखदेख गर्ने कर्मचारीको अभावसंगै प्रशस्त पानी नभएकाले समस्या आएको सालिमे सिर्जनशील विकास मञ्चका अध्यक्ष सन्तोष शाक्यले बताए ।
‘केही समय शौचालय रेखदेखका लागि कर्मचारी राख्यौं तर तलब दिन प्रशस्त आर्थिक स्रोत भएन’ शाक्यले भने ‘तलब नभएपछि कर्मचारी बस्ने कुरो भएन’ नगरपालिकाले आवश्यक तलब दिएर व्यक्ति खटाए समस्या समाधान हुने शाक्यले बताए । शौचालय व्यवस्थापन समितिका संयोजक समेत रहेका शाक्यले विगतमा केही महिना सञ्चालनमा आएको तर रेखदेख गर्ने कर्मचारी नपाईने र पाईए पनि निरन्तर बस्न नमान्ने गरेकाले अहिले प्रयोगविहिन जस्तै बनेको बताए । मुसिकोट नगरपालिका ७ का वडा अध्यक्ष प्रकाश काफ्लेले पहिले व्यवस्थापन गरेर सञ्चालनमा ल्याईए पनि पछि व्यवस्था हुन नसक्दा समस्या उत्पन्न भएको बताए ।
पहिले हामीले नगरपालिकाको फोहोर व्यवस्थापन समितिमार्फत शौचालय रेखदेख गर्ने कर्मचारी पनि राखेका थियौ वडा अध्यक्ष काफ्लेले भने, ‘अहिले कर्मचारी नहुँदा शैचालयमा जाने व्यक्तिलाई मुख छोपेर जानुपर्ने अवस्था रहेको छ ।’ शौचालयको व्यवस्थापनका लागि हामी वन वातावरण तथा सरसफाई समितिसँग बैठक बसेर छिट्टै निर्णय गर्ने उनले बताए । मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले भने, ‘सार्वजनिक शौचालयमा रेखदेख गर्ने कर्मचारी नभएकाले शौचालय फोहोर जस्तै भएको हो ।’ सर्वसाधारणले साँचो लगेर शौचालय जानको लागि बन्देज नै गरिएको छैन, यहाँ मुख्य समस्या भनेको रेखदेख गर्ने कर्मचारी नै नभएको उनले बताए । मेयरले भने, ‘व्यवस्थापनका लागि छिट्टै काम हुने छ ।’