Shittalpati
अवैध लागूऔषध सहित १२ जना पक्राउ

पाल्पा, देशका विभिन्न स्थानबाट अवैध लागूऔषध सहित प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार रूपन्देही, सुर्खेत, सुनसरी,  सिराहा, मकवानपुर, मोरङ, कैलालीका विभिन्न स्थानबाट  अवैध लागूऔषध सहित १२ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले रूपन्देहीको रोहिणी गाउँपालिका–३ धकधई चोक नजिकबाट अवैध लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । नियन्त्रित लागूऔषध स्पास्मो ३९ ट्याब्लेट र नाईट्रोसन ३ ट्याब्लेट सहित सोही ठाउँ बस्ने २४ वर्षीय हलिम अन्सारीलाई  प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय धकधईबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । यस्तै सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ सुब्बकुनाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम ३ सय ५० मिलिग्राम सहित सोही नगरपालिका–१२ चनौटे बस्ने जाजरकोट जुनिचाँदे गाउँपालिका–२ का २४ वर्षीय युवराज शाहीलाई प्रहरीले पक्राउ गरेको छ । यस्तै सुनसरीको धरान उपमहानगरपालिका–८ अरूण टोलबाट नियन्त्रित लागूऔषध ट्रामोल १ सय ६२ ट्याब्लेट र ट्रामाडोल ३ ट्याब्लेट सहित धरान उपमहानगरपालिका–८ बस्ने ३५ वर्षीय उज्वल तामाङ समेत ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बरगाछीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस्तै मोरङको विराटनगर महानगरपालिका–१४ मलाया रोडबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ७४ ग्राम ३ सय १० मिलिग्राम सहित २ जनालाई  प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका–१२ बस्ने २३ वर्षीय रोशन लाल महत्तो र भारत बिहार अररिया फुल्का थाना–२ बस्ने २१ वर्षीय पवन कुमार यादव रहेका छन् । प्रहरीले उनीहरूले प्रयोग गरेको को.३० प ४१० नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । यस्तै कैलालीको गोदावरी नगरपालिका–२ तेघरीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ६० ट्याब्लेट सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँका ३५ वर्षीय तपेश खड्का र धनगढी उपमहानगरपालिका–५ का २६ वर्षीय दिक्पाल स्वार रहेका छन् । इलाका प्रहरी कार्यालय मालाखेती र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

यसैगरी कैलालीको धनगढी उपमहानगरपालिका–१८ फुलबारी एफ गाउँका २८ वर्षीय केदार बोहरालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ११ ग्राम ८ सय ६० मिलिग्राम सहित प्रहरीले पक्राउ गरेको छ । यस्तै मकवानपुरको हेटौंडा उपमहानगरपालिका–२ पिपलबोटबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५२ ट्याब्लेट सहित बकैया गाउँपालिका–३ हात्तिसुडे जलजले बस्ने २३ वर्षीय कुशल खड्कालाई प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । उता सिराहाको सिरहा नगरपालिका–१५ इट्टा भट्टाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ७० मिलिग्राम सहित गोलबजार नगरपालिका–११ बस्ने २७ वर्षीय शषि कुमार साहलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय माडरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको  केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
 

प्रकाशित मिति: सोमबार, असार ३०, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update