Shittalpati
सुनचाँदी व्यवसायीको उपभोक्ता सचेतना सम्बन्धी छलफल

पाल्पा, सरकारले सुनचाँदी गहनामा लगाएको अनावश्यक विलासिता करको व्यवस्थाले व्यवसाय थप संकटमा परेको भन्दै आन्दोलनमा रहेका पाल्पाका सुनचाँदी व्यवसायीहरुले उपभोक्ता सचेतना सम्बन्धी छलफल चलाएका छन् । आफुहरुको  आन्दोलनका कारण उपभोक्ताहरुलाई पर्न गएको मार प्रति सचेतन गराउने उद्देश्यले उनीहरुले छलफल तथा अन्तक्र्रिया कार्यक्रम गरेका हुन् ।

पाल्पा सुनचाँदी व्यवसायी संघको आयोजनामा  मंगलबार तानसेनमा राष्ट्रिय उपभोक्ता मञ्च नेपाल पाल्पा, उपभोक्तामञ्च नेपाल पाल्पा, पाल्पा उद्योग वाणिज्य संघ र पाल्पा व्यापार संघसँग छलफल तथा अन्तक्र्रिया कार्यक्रम भएको हो । सरकारले बजेटमार्फत ल्याएको अव्यवहारिक कर नीतिको विरोधमा नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको संयुक्त आवह्वानमा घोषणा गरिएको अनिश्चितकालिन सुनचाँदी पसल बन्दले उपभोक्तामा परेको समस्यालाई मध्यनजर गर्दै आफुहरुले आन्दोलन गर्नु परेको विषयमा संघले उपभोक्तालाई  जानकारी गराएको छ । संघले  पसल नै बन्द गरेर आन्दोलनमा उत्रिनु रहर नभई बाध्यता भएको स्पष्ट पारेको छ  ।

छलफलमा उपभोक्ता मञ्च नेपालका केन्द्रीय सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि माधव नेपालले व्यवसायीहरुको आन्दोलनप्रति आफुहरुको पूर्ण समर्थन रहेको बताए । उनले आन्दोलन गर्दा उपभोक्ताको हितलाई मध्यनजर गर्न संघलाई सुझाव दिए । नेपालले सुनचाँदीको गुणस्तरमा ध्यान दिन पनि संघलाई आग्रह गरे । कार्यक्रममा पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराई, पाल्पा व्यापार संघका अध्यक्ष विष्णु कार्की, राष्ट्रिय उपभोक्ता मञ्च पाल्पाका अध्यक्ष टंक न्यौपाने लगायतले सुनचाँदी व्यवसायीहरुको आन्दोलन जाहेज भए पनि उपभोक्ताहरुलाई मार पर्ने गरी नगर्न  सुझाव दिए । संघका उपाध्यक्ष तथा आन्दोलन परिचालन समितिका संयोजक अशोक कुमार विश्वकर्माले कार्यक्रम माथि प्रकाश पारेका थिए ।  संघका अध्यक्ष प्रेमलाल पौडेलको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष दीलिप कुमार समरखातीको स्वागत, महासचिव प्रविन राज शाक्यको सञ्चालनमा कार्यक्रम भएको थियो । व्यवसायीहरुले विगत दुई हप्तादेखि पसल नै बन्द गरेर आन्दोलनमा उत्रिएका छन् । उनीहरुले सोमबार जिल्ला प्रशासन कार्यालय र करदातासेवा कार्यालयमा एक घण्टे धर्ना समेत दिएका छन् । सरकारले सुनमा लगाएको दुई प्रतिशत विलासिता कर र हिरामा लगाएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर लगाएपछि व्यवसायिकहरु निरन्तर आन्दोलनमा छन् ।

प्रकाशित मिति: मंगलबार, असार २४, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update