
पाल्पा, पूर्वमन्त्री तथा सांसद अच्युतराज रेग्मीको निधन भएको छ । उनको अस्ट्रेलियामा ९६ वर्षको उमेरमा निधन भएको हो । पाल्पाको तानसेन नगरपालिका –२ मेहलधारामा जन्मिका रेग्मी एक वरिष्ठ राजनीतिज्ञ र आध्यात्मिक व्यक्तित्व समेत थिए ।
२०१५ मा भएको संसदीय निर्वाचनमा तत्कालको पाल्पा क्षेत्र नम्वर २ मा नेपाली काँग्रेसबाट उम्मेदवार बनेका उनी अत्याधिक मतका साथ विजयी भएका थिए । पछि पञ्चायतमा प्रवेश गरेका रेग्मी मन्त्री समेत बने । पाल्पाका शिक्षाविद् डा. रामप्रसाद ज्ञवालीका अनुसार रेग्मीको निधनले देशले एक असल राजनीतिज्ञ गुमाएको बताए । उनले भने “ रेग्मी मेरो फुपुको छोरा हुनुहुन्छ, आमाको निधनपछि मेरै घरमा बसेर २०१५ मा संसदीय चुनाव लड्नुभयो र विजयी पनि हुनुभयो । पछि उहाँ पञ्चायतमा गएर २०३३÷०३४ मा मन्त्री पनि बन्नु भयो ।” रेग्मी नेपाली काँग्रेसको सह–महामन्त्री समेत बने थिए ।
मन्त्री बनेपछि उनी विस्तार राजनीतिबाट निष्क्रिय हुँदै आध्यात्मिकतर्फ लागेको डा.ज्ञवाली बताउन्छन् । उनले भने “ रेग्मी लामो समयदेखि काठमाडौंको पुरानो बानेश्वरमा बस्दै आएका थिए, त्यति बेलादेखि नै उहाँँ साइबाबामा लाग्नुभएको हो । राजनीतिबाट निष्क्रिय हुँदै गएपछि आध्यात्मिक चिन्तनमा लाग्नु भएको हो ।” रेग्मीले देखाएको दृढता, नेतृत्व दक्षता र जनताको पक्षमा उभिने साहस नेपालीका लागि प्रेरणाको स्रोत रहेको ज्ञवालीको भनाई छ । मन्त्री, सांसद र जनप्रतिनिधिका रूपमा उनले देखाएको दूरदृष्टि, संयमता र विवेकपूर्ण निर्णय आज पनि उत्तिकै स्मरणीय रहेको उनले बताए । रेग्मीले विए र शास्त्रीसम्मको अध्ययन गरेका छन् । उनका तीन छोरी, एक छोरा र श्रीमति रहेका छन् ।