
पाल्पा, जिल्लाको बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्न सुझाव संकलन गरिएको छ । जिल्ला ट्राफिक कार्यालयले यहाँको सवारी व्यवस्थापन र दुर्घटना न्युनिकरण गर्न सुझाव संकलन गरेको हो ।
सरुवा भई जिल्लाको ट्राफिक प्रमुखका रुपमा आएका प्रविन आचार्यले सवारी व्यवस्थापन र दुर्घटना न्यूनीकरण कसरी गर्न सकिन्छ भनेर यहाँका पत्रकारहरुसँग सुझाव माग गरेका हुन् । उनले आइतबार एक कार्यक्रमकाबिच सुझाव संकलन गरे । कार्यक्रममा सहभागी पत्रकारहरुले सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिक नियमको कडाइका साथ कार्यान्वयन गर्नु पर्नेमा जोड दिएका छन् । उनीहरुले सवारी दुर्घटनाको मुख्य कारण चालकको लापरबाही, मदिरा तथा लागूऔषधको प्रयोग र तीव्र गति भएकाले त्यसलाई रोक्न ट्राफिक नियमको कार्यान्वयनमा कडाइ गर्नुपर्ने सुझाव दिए । सडक सुरक्षा चुनौतीसँग जुध्नुको अर्को कारण सडकको दयनीय अवस्था रहेको पनि पत्रकारहरुले बताए । उनीहरुले भौगोलिक अवस्थाका कारण धेरै क्षेत्रमा भौतिक पूर्वाधार अत्यन्तै अपर्याप्त भएको भएका पनि उचित मर्मतसम्भारको अभावमा जीर्ण हुँदा सडकमा अनगन्ती खाल्डाखुल्डी, कमजोर ढल निकास प्रणाली, हिलोधूलो, अस्पष्ट सडक चिह्नले चालकमात्रै होइन, पैदल यात्रुलाई पनि जोखिम बढाएको बताएका छन् । पत्रकारहरुले ट्राफिक सचेतनाका कार्यक्रमहरु समेत विद्यालय तहमा स्थानीय सरकारको समन्वयमा गर्न सुझाव दिए ।
पुराना सवारीले निम्त्याउने जोखिम न्यूनीकरण गर्न व्यापक रणनीतिको आवश्यक रहेको पनि पत्रकारहरुले बताए । उनीहरुले चालक तथा पैदल यात्रीलाई सडक सुरक्षा अभ्यास, सिट बेल्ट र हेलमेटको उचित प्रयोग, तीव्र गति र लापरबाहीपूर्ण सवारी चलाउँदाका खतराका सम्बन्धमा जनचेतनामूलक कार्यक्रम आवश्यक रहेको उल्लेख गरे । कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेनाले दुर्घटना न्यूनीकरणमा ट्राफिक नियमको कडाइका साथ कार्यान्वयन गर्न आग्रह गरे । उनले ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रमहरुलाई समेत प्रभावकारी रुपमा सञ्चालन गर्नु पर्नेमा जोड दिए । अध्यक्ष तिमिल्सेनाले ट्राफिक कार्यालयबाट हुने सचेतनामूलक कार्यक्रमहरुको प्रचार–प्रसारमा जिल्लाका पत्रकारहरुको पूर्ण रुपमा सहयोग रहने समेत प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा ट्राफिक प्रमुख प्रविन आचार्यले पत्रकारहरुबाट आएका सुझावहरुलाई तत्काल कार्यान्वयन गर्ने बताए । उनले जिल्लाको ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउने दिशामा आफु सशक्त भएर लाग्ने उल्लेख गरे ।