Shittalpati
रामपुरमा मेयरसँग बालबालिका

पाल्पा (रामपुर), जिल्लाको रामपुरमा मेयरसँग बालबालिकाका कार्यक्रम गरिएको छ । दरैठाँटी माध्यमिक विद्यालय रामपुर–६ विजयपुरमा नगर भित्रका विद्यालयमा अध्ययनरत बालबालिकासँग नगर प्रमुख रमणबहादुर थापाले अन्तक्र्रिया गरेका हुन् ।

बालिकाको समस्या पहिचानसँगै आवश्यक सुझाव संकलन गर्नका लागि कार्यक्रम गरिएको नगरपालिकाले जनाएको छ । कार्यक्रममा बालबालिकाहरुले बालबालिकाको क्षेत्रमा आगामी वर्ष हुने कार्यक्रम, बजेट, दिवा खाजा, बालबालिकाको प्रतिभा प्रस्फुटनमा नगरले लिएको नीति, लागुपदार्थ दुव्र्यसनी न्यूनिकरण, सामुदायिकसँगै अन्य विद्यालयका विद्यार्थीहरुलाई छात्रवृति कार्यक्रम सञ्चालनका विषयमा आफ्ना जिज्ञासा राखेका थिए । छात्राहरुले विद्यालयका लागि वितरण गरिएका सेनेटरी प्याडको गुणस्तरको बारेमा मेयरलाई  प्रश्न समेत गरेका थिए ।  बालबालिकाको प्रश्न र जिज्ञासा मेटाउँदै नगर प्रमुख थापाले बालबालिका भविष्यको आधार भएकाले उनीहरुको समस्या र धारणा बुझ्न कार्यक्रमलाई निरन्तरता दिदै आएको बताए । उनले पूर्वाधार विकाससँगै बालबालिकाको शिक्षाका लागि नगरपालिका प्रतिवद्ध भएर लागेको बताए ।  थापाले बालमैत्री स्थानीय शासन लागु गर्नका लागि सुरु भएको अभियानमार्फत बालबालिकाको क्षेत्रमा थप कार्य गर्ने उल्लेख गरे । असहाय बालबालिकाको संरक्षणका लागि नगरपालिकाले आफ्नो तर्फबाट र अन्य संघ संस्थासँग समन्वय गरेर कार्यक्रम सञ्चालन गर्दै आएको उनको भनाई छ । आर्थिक अभावमा कोही पनि बालबालिका शिक्षाबाट बञ्चित हुनु नपर्ने नगर प्रमुख थापाले बताए । बालबालिकाको सुझावलाई पूर्ण पालना गर्दै नगरपालिका अघि बढ्ने बताउँदै थापाले शिक्षा आर्जन गरी देशको लागि योगदान गर्छु भन्ने धारणाका साथ अघि बढ्न बालबालिकालाई अनुरोध गरे । सोही अवसरमा  नगरपालिकाले एसइईमा ३.६ जिपिए वा सो भन्दा माथि अंक ल्याउने नगर भित्रका ८७ जना विद्यार्थीहरुलाई नगद सहित सम्मान गरेको छ । रामतुलसी नमुना माविबाट चार जिपिए ल्याउन सफल अनुजा श्रेष्ठ र विविशा घिमिरे सहित १२ वटा विद्यालयका विद्यार्थीहरुलाई नगद सहित सम्मान गरिएको हो । चार जिपिए ल्याउन सफल दुई विद्यार्थीलाई नगद पाँच हजार सहित सम्मान पत्र र ३ दशमलव ६ जिपिए वा सो भन्दा बढी अंक ल्याउने विद्यार्थीलाई नगद दुई हजार सहित सम्मान पत्रले सम्मान गरिएको छ । नगर प्रमुख थापा, उपप्रमुख बालकुमारी थापा, नगर प्रवक्ता कपिलबहादुर खाँण सहितका जनप्रतिनिधिहरुले विद्यार्थीहरुलाई सम्मान गरेका थिए । एसइईमा ए प्लससहित नतिजा ल्याउन सफल नगर भित्रका १२ विद्यालयलाई पनि नगरपालिकाले सम्मान गरेको छ । कार्यक्रमको अवसरमा नगर भित्रका ५२ वटा सामुदायिक विद्यालय र १ वटा क्याम्पसका ३ सय ३६ विद्यार्थीलाई मेयर छात्रवृत्ती कार्यक्रम मार्फत छात्रवृति प्रदान गरिएको थियो ।

प्राविधिक धारणका २३ जना विद्यार्थीलाई चार/चार हजार र अन्य साधारण तर्फका विद्याथीहरुलाई दुई हजार पाँच सयका दरले ११ लाख ९९ हजार चार सय रुपैयाँका बराबरको छात्रवृति प्रदान गरिएको नगर शिक्षा अधिकृत विकल काफ्लेले जानकारी दिए । मेयरसँग बालबालिका कार्यक्रमको सहजिकरण नगर शिक्षा अधिकृत विकल काफ्लेले गरेका थिए । नगर प्रमुख थापाको अध्यक्षता, उपप्रमुख बालकुमारी थापाको स्वागत र शिक्षाका प्राविधिक सहायक अनिता कुँवरको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: सोमबार, असार २३, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update