
पाल्पा, आषाढ शुक्ल एकादशीका दिन आज नेपालीले घर–घरमा तुलसीको बिरुवा रोप्दै छन् । आषाढ शुक्ल एकादशीलाई हरिशयनी एकादशी पनि भन्ने गरिन्छ ।
आजको दिन सनातन धर्मावलम्बीहरू आँगनमा तुलसी रोपी भगवान् विष्णुको पूजाआराधना गरी मनाउँदैछन् । जेठ शुक्ल एकादशीका दिन राखिएको दलबाट तयार भएको तुलसीको विरुवा आज सार्ने प्रचलन छ । आषाढ शुक्ल एकादशीका दिन रोपिएको तुलसी भगवान् विष्णु र विष्णुप्रियाका नामले चार महिनासम्म पूजा गर्ने परम्परा छ । सनातन वैदिक परम्परा अनुसार तुलसीलाई विष्णुको प्रतीकका रुपमा मानिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ। आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्ने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको हो । भगवान् विष्णु शयन गर्ने चार महिनालाई चतुर्मासा पनि भनिन्छ । एक वर्षमा २४ एकादशी पर्छन् । सक्नेले सबै एकादशीमा फलाहार मात्र गरेर व्रत बस्छन् । नसक्नेले चतुर्मासाका चार महिनामा पर्ने आठ एकादशीमा व्रत गर्छन् । कामकाजमा सक्रिय हुनुपर्ने र चार महिनासम्म पनि फलाहार गर्न नसक्नेले भने हरिशयनी एकादशी र हरिबोधिनी एकादशीका दिन फलाहार गरी व्रत बस्ने गर्छन् ।
एकादशीका दिन विशेष गरी चामलबाट बनेका परिकार नखाने रोटी, ढिँडो लगायत फलाहार गर्ने गरिन्छ । वैज्ञानिक रुपमा पनि बढी अक्सिजन पाइने प्रमाणित भएको तुलसी विभिन्न रोगका लागि औषधीका रुपमा समेत प्रयोग गरिन्छ । तुलसीको मोठ भएका स्थानमा रोग सार्ने विषालु प्रकारका कीटाणु नआउने विश्वास समेत गरिन्छ । वास्तु दोष भएका स्थानमा तुलसीको मोठ राख्नाले सकारात्मक फल प्राप्त हुने मान्यता समेत छ । तुलसी भएका स्थानमा शुद्ध हावा बहने तथ्य समेत वैज्ञानिक रुपमा पुष्टि भएको छ । चार महिनासम्म विधिपूर्वक पूजा आराधना गरिएको तुलसीलाई कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन दामोदरसँग विवाह गरिदिने वैदिक विधि छ । तुलसी र दामोदरको विधिपूर्वक विवाहपछि अग्निस्थापना विधिबाट चतुर्मासा व्रतको उद्यापनका लागि हवनसमेत गरिन्छ ।