Shittalpati
आज खेलकुद पत्रकार दिवस मनाइँदै

पाल्पा, आज विश्व खेलकूद पत्रकार दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष जुलाई २ मा विश्व खेलकुद पत्रकार दिवस मनाउने गरिन्छ । खेलकुद वा स्पोर्टस विटमा कार्यरत पत्रकारहरुको लागि आज विशेष दिन हो ।

खेलकुद पत्रकार दिवस सन् १९९४ बाट मनाउन थालिएको पाइन्छ । सन् १९२४ मा बेलायतमा अन्तर्राष्ट्रिय खेलकुद प्रेस संघ (एआइपिस) स्थापना भएको दिनको स्मरण गर्दै हरेक वर्ष यो दिवस मनाउने गरिन्छ । पेरिसमा सम्पन्न भएको ओलम्पिकको अवसरमा एकै थलोमा भेला भएका खेल पत्रकारहरू मिलेर ९७ वर्षअघि एआइपीएसको स्थापना गरेका थिए । नेपालले सन २००६ मा एआइपिएसको सदस्यता लिएको थियो ।

अहिले हरेक सञ्चारगृहमा स्पोर्टस एउटा अपरिहार्य विट बनिसकेको छ । खेलकुदका समाचार विना कुनै पनि सञ्चार गृहबाट प्रसारण वा प्रकाशन हुने समाचार पूर्ण हुँदैनन् । विगतमा निकै थोरै संख्यामा मात्र खेलकुद पत्रकारहरु थिए । अहिले सञ्चारमाध्यमको विकास र सञ्चार गृहको संख्या वृद्धि भएसँगै खेलकुद पत्रकारहरु पनि धेरै संख्यामा देखिन थालेका छन् । हरेक मिडिया हाउसको लागि खेलकुद नभइ नहुने विट त बन्यो, तर पनि नेपालको पत्रकारिता राजनीतिमा बढी केन्द्रीत रहँदा खेलकुद क्षेत्रका समाचारहरु भने छायाँमा पर्ने गरेका छन् । सबै खेल सम्बन्धित समाचार र घटनाहरू क्रमशः खेल पत्रकारहरुले कभर गरेको इतिहास छ । अहिले आएर डिजिटल युगमा खेलकुद पत्रकारिताको गति र माग निकै बढेको छ ।

प्रकाशित मिति: बुधबार, असार १८, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update