
पाल्पा, पाल्पा जेसिजले जिल्लाको एक सामुदायिक विद्यालयमा मनोविमर्श कार्यक्रम गरेको छ । उसले “मन स्वस्थ रहे जीवन स्वस्थ रहन्छ” भन्ने नारालाई आत्मसाथ गर्दै जिल्लाको माथागढी गाउँपालिका–१, बुढीकोटस्थित आदर्श आधारभूत विद्यालयमा मनोसामाजिक मनोविमर्श अभिमूखिकरण कार्यक्रम गरेको हो ।
यहाँका शिक्षक शिक्षिका र विद्यार्थीहरुका लागि मनोसामाजिक मनोविमर्श कार्यक्रम गरिएको जेसिजका जिल्ला अध्यक्ष जेसी विवेक काजी शाक्यले बताए । पछिल्लो समय मानिसहरुमा व्यस्त जीवनशैलीका कारण मनोसामाजिक समस्याहरु देखा पर्दै गएकाले सचेतनामार्फत समाधान गर्न सकिने भएकाले विद्यालय तहमा मनोविमर्श कार्यक्रम गरिएको उनले बताए । अध्यक्ष शाक्यले भने“ सचेतनाका माध्यमबाट मनोसामाजिक समस्याहरु कम गर्न सकिन्छ, त्यसैले विद्यालयस्तरमा पुगेर विद्यार्थी, शिक्षकहरुमा कार्यक्रम गर्दै हिडेका हौं ।”
जेसिजकी उपाध्यक्ष जेसी कला दाहालले मनोसामाजिक मनोविमर्शको बारेमा प्रशिक्षण दिएकी थिइन् । उनले दैनिक जीवनमा आइपर्ने विभिन्न समस्याहरुले गर्दा व्यक्तिको मन, शरीर र दिमागसँगको तालमेल बिग्रिने र मनोसामाजिक समस्याहरु उत्पन्न हुने भएकाले यसतर्फ सबै वर्ग सचेत हुनुपर्ने बताइन् । विद्यालयमा शिक्षक शिक्षिकाहरु यस्ता विषयहरुमा सचेत भए मात्र विद्यार्थीहरुको मनोभाव बुझ्न सक्ने र सोही अनुरुप विद्यार्थीहरुसँगको सम्बन्ध कायम गर्ने सक्ने प्रशिक्षक दाहालले उल्लेख गरिन् । विभिन्न भावनात्मक संवेग, पारिवारिक वा सामाजिक कारणहरुले गर्दा हुने छटपटी, तनाव व्यवस्थापनको लागि यस्ता अभिमूखिकरण कार्यक्रमहरु महत्वपूर्ण हुने विद्यालयकी प्रधानाध्यापक गिरीजा पाण्डेले बताईन् । जेसिजका पूर्व अध्यक्ष जेसी अच्यूत खनालले यस्ता कार्यक्रम आगामी दिनमा पनि जेसिजले गर्दै जाने बताए । जेसिजका अध्यक्ष जेसी विवेक काजी शाक्यको अध्यक्षता, जेसिजका थिम डाइरेक्टर जेसी निजाम दीन मियाको संयोजकत्व, महासचिव जेसी गणेश पन्थीको सञ्चालनमा कार्यक्रम भएको थियो ।