Shittalpati
मिडियाकर्मीका लागि स्वास्थ्य प्रवद्र्धन सेवा सम्बन्धी पैरवी

पाल्पा, तानसेनमा मिडियाकर्मीका लागि स्वास्थ्य प्रवद्र्धन सेवा सम्बन्धी पैरवी कार्यक्रम भएको छ । स्वास्थ्य कार्यालय  पाल्पाको आयोजनामा मिडियाकर्मीलाई स्वास्थ्य प्रवद्र्धन सम्बन्धी जानकारी गराउने उद्देश्यले पैरवी कार्यक्रम गरिएको हो ।

कार्यक्रममा स्वास्थ्य कार्यालय पाल्पाका निमित्त कार्यालय प्रमुख टुक प्रसाद पोखरेलले कार्यक्रमको सहजीकरण गरेका थिए  । उनले मिडियाकर्मीले प्रचारात्मक सेवालाई मात्र जोड दिंदै आएको भए पनि अब स्वास्थ्य प्रवद्र्धन सेवालाई समेत प्राथमिकता दिनुपर्ने बताए ।  शारीरिक, मानसिक, भावनात्मक तथा सामाजिक रूपमा स्वस्थ भए मात्र मानिस स्वस्थ हुने उनको भनाइ छ ।

विगतको तुलना स्वास्थ्यका सूचकहरुमा धेरै सुधार भए पनि, नयाँ–नयाँ प्रकृतिका रोगहरुले झन् ठूला ठूला समस्या तथा आर्थिक व्यभार बढाएको प्रमुख पोखरेलले बताए ।  उनले व्यक्तिगत, आनिवानी, व्यवहार सुधार गरे स्वास्थ्यका समस्याहरुमा कमी आउने उल्लेख गरे ।

उनले भने “१० बर्ष अघि सम्म झाडा पखालाको प्रकोप निकै बढी थियो, अहिले घर–घरमा शौचालय र खानेपानी उपलब्ध भएपछि झाडापखाल रोगको महामारीमा निकै कमी आएको छ, परिवार स्वास्थ्यमा निकै राम्रा काम भएका छन्, अहिले धेरै स्वास्थ्य संस्थामा मात्र सुत्केरी हुने गरेका छन्, १३ प्रकारका खोपको नियमितताको कारण आमा र बच्चाको मृत्युदर निकै घटेको छ, २ वच्चा भन्दा बढी बच्चा जन्माउने प्रचलनको लगभग अन्त्य नै भएको छ, एचआईभी सक्रमितहरुको जीवन सुनिश्चिता भएका जस्ता सूचककले स्वास्थ्यमा गरेको लगानी, व्यक्ति समाज, परिवार र राष्ट्रलाई धनी बनाउने काम भएको छ ।”

जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले नागरिकहरुको स्वास्थ्य तथा सचेतनाको विषयमा जानकारी  गराएको भए पनि ध्यान नदिदा स्वास्थ्यमा गम्भिर असर परेको प्रमुख पोखरेलको भनाई छ । नेपालको तथ्याङ्कमा ४७ प्रतिशत व्यक्ति र ५३ प्रतिशत स्वास्थ्यमा लगानी गरेको उनले बताए । लुम्बिनी प्रदेश सरकारबाट स्वास्थ्यमा बजेटको १० प्रतिशत लगानी भएपनि संघ र पालिकाबाट भने १० प्रतिशत लगानी  नभएकाले आगामी दिनमा संघ र पालिकाले पनि  लगानी बृद्धि गरेमा स्वास्थ्य क्षेत्रमा ठूलो परिवर्तन आउने  पोखरेलको भनाई छ ।

अहिले सर्ने रोग भन्दा नसर्ने रोगको भयावह स्थिति बन्दै गएकाले कम्तीमा बर्षको एक पटक, सुगर, प्रेसर, मृगौला र उचाई र तौलको परीक्षण गरेमा भविष्यमा स्वास्थ्यमा देखिने आधा समस्याको समाधान रोग नलाग्दै गर्न सकिने स्वास्थ्य कार्यालयका प्रमुख पोखरेलले बताए । पाल्पामा ८ हजार ५ सय १७ जना बालबालिकामा भएको स्क्रिनिङ्गमा ४२ जना गम्भीर प्रकारका कुपोषित  भेटिएका बालबालिका  स्वास्थ्य कार्यालय पाल्पाले सुधार केन्द्रमा पठाएको छ । समग्र स्वास्थ्यमा सुधार गर्न ३ वटै सरकार, संघ र प्रदेशका विषयगत कार्यालयहरुबिच साझा अवधारणा बनाएर स्वास्थ्य नीति निर्माण गर्नुपर्ने अहिले आवश्यकता देखिएको प्रमुख  पोखरेलले बताए । कार्यक्रममा पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेनाले समग्र स्वास्थ्य सूचक बृद्धि हुनुमा पत्रकारहरुको भूमिका महत्वपूर्ण रहेको बताए । राज्यले स्वास्थ्यमा गरेको लगानीलाई आमजनताको घरदैलोमा पुर्‍याउने, सचेतना फैलाउने काम पत्रकारहरुको भएकाले पाल्पाली पत्रकारहरुले पनि सोही अनुसारको जिम्मेवारी इमान्दारितापुर्वक पालना गर्दै आएको अध्यक्ष तिमिल्सेनाले बताए । स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख टुक प्रसाद पोखरेलको अध्यक्षता, ल्याव टक्नीसियन अधिकृत मधुसुदन भट्टराईको सञ्चालनमा कार्यक्रम भएको थियो ।

 

प्रकाशित मिति: आइतबार, असार १५, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update