
पाल्पा, जिल्लाको तानसेन नगरपालिका –७ काजीपौवाका अर्जुन थापा मगरले सगरमाथाको सफल आरोहण गरेका छन् । उनले जेठ १३ गते बिहान ६ बजेर १८ मिनेट जाँदा सगरमाथाको सफल आरोहण गरेका हुन् ।
उनी विगत २० वर्षदेखि भारतीय सेनामा कार्यरत छन् । भारतीय सेनाले २००१ मा पहिलो पटक सफल सगरमाथा आरोहण गरेको थियो । सोही दिनको सम्झनामा २५ औं वर्ष मनाउन थापा सहित ३५ जनाको टिम आधार शिविरबाट सगरमाथा चुचुरोतर्फ प्रस्थान गरेका थिए । जसमा २२ जनाले सफल अरोहण गरेका हुन् ।
आरोहणका क्रममा थुप्रै कठिनाईहरु खेप्नु परेको थापाले सुनाए । उनले भने “आधार शिविरबाट माथि एम वान, एम टु, एम थ्री र एम फोर जाँदै गर्दा मौसम खराबी, ग्रावेशेषहरु जस्ता समस्याहरुले निकै कठिन भयो तर सबै साथीहरुको साहस, उल्लास र उत्प्रेरणाले चुचुरोमा पुग्न सफल भयौं ।” सफल आरोहणपछि घर, परिवार, साथीभाई, छरछिमेक, इष्टमित्रहरुबाट थप खुसी र उत्साह थपेको थापाले बताए । उनलाई आरोहण गर्नमा श्रीमतिले समेत ठूलो साहस र उत्साह थपिदिएकी थिइन् । थापाले भने “म सगरमाथामा जानु अघि घरबाट श्रीमतिले माउन्ट एभेष्ट जानु सौभाग्य हो, हजुर सक्नुहुन्छ जानुहोस् भनेर पाइला पाइलामा जुन उत्साह र ढाडस दिएकी थिइन् त्यसले पनि मलाई थप चुचुरोमा पुग्न बल पुगेको हो ।”
श्रीमति देवमाया थापाले श्रीमानले सफल सगरमाथा आरोहण गरेर फर्किसकेपछि खुसीको सिमाना नै नरहेको बताईन् । उनले भनिन् “सुरुमा त अत्यन्त डर लागेको थियो, सगरमाथा जाँदा खतरा हुन्छ, मरिन्छ भन्ने सुनेकी थिएँ, जसले गर्दा डर लागेको थियो । पछि उहाँले हामीले तालिम लिएका छौं, आइसको बारेमा सबै बुझेका छौं, नडराउ भनेर सात्वना दिनुभयो । त्यसपछि मैले हुन्छ भनेर थप उत्साह दिएकी थिए ।” सफल आरोहण गरेर फर्किएपछि भने घर परिवारमा अत्यन्त खुसी छाएको उनले बताइन् । थापाले भनिन् “अहिले आफुलाई सगरमाथा आरोहीकी श्रीमति भनेर चिनाउन पाउँदा खुसी लागेको छ ।” सफल आरोहणपछि अहिले थापालाई विभिन्न संघ संस्था र निकायहरुले सम्मान गरिरहेका छन् । अहिले घर आएका उनलाई तानसेन–७ को वडा कार्यालय, रोटरी क्लव अफ पाल्पा तानसेनले सम्मान गरेका छन् ।