पाल्पा, जिल्लाको रामपुर नगरपालिकामा किशोर–किशोरी र विद्यालय नर्सहरुका लागि प्रजनन् स्वास्थ्य सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको छ ।
रामपुर नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा किशोर–किशोरीहरूलाई यौनिकता, शारीरिक परिवर्तन र यौन स्वास्थ्यबारे विद्यमान भ्रमहरू हटाउने उद्देश्यका साथ अभिमुखीकरण कार्यक्रम गरिएको हो । नगर भित्रका माध्यमिक विद्यालय र आधारभूत विद्यालयका विद्यार्थी र नर्सहरुलाई अभिमुखिकरण प्रदान गरिएको स्वास्थ्य शाखाले जनाएको छ । कार्यक्रममा नेपाल परिवार संघ पाल्पा शाखा प्रबन्धक शोवाकान्त न्यौपानेले किशोर किशोरहरुको लागि बृहत यौनिकता शिक्षाको बारेमा अभिमुखिकरण प्रदान गरेका थिए । उनले किशोर किशोरी मैत्री व्यवहार, यौन तथा प्रजनन् स्वस्थ्य सम्बन्धी चासो, चिन्ता, समस्या र आवश्यकतासँगै किशोर किशोरी मैत्री स्वस्थ्य सेवाका विशेषताका बारेमा जानकारी दिएका थिए ।
त्यसैगरी, गाँडाकोट स्वास्थ्य चौकी प्रमुख मजिबुर रहमान शेख र नर्सिङ अधिकृत पुनम धितालले किशोरीमैत्री स्वास्थ्य सेवाका विशेषता, पहुँच र महत्वका विषयमा सहभागीहरूलाई जानकारी गराए । कार्यक्रममा उपप्रमुख बालकुमारी थापाले किशोर अवस्था एक संवेदनशील चरण भएकाले त्यसबेला देखिने शारीरिक तथा मानसिक परिवर्तनबारे स्पष्ट ज्ञान नहुँदा भ्रम सिर्जना हुने बताउँदै यस्तो शिक्षाले किशोर–किशोरीहरूलाई सशक्त बनाउने विश्वास व्यक्त गरिन् । उनले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिइन् । उपप्रमुख थापाको अध्यक्षता र स्वास्थ्य शाखा प्रमुख गिरिराज घिमिरेको सञ्चालनमा कार्यक्राम भएको थियो ।