Shittalpati
छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

पाल्पा, देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सुनसरी, रूकुम पश्चिम, मोरङ र रोल्पामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको हो ।

सुनसरीको धरान उपमहानगरपालिका–८ सेउती पुल नजिकै सडकमा मोटरसाइकल दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको छ । धरानबाट इटहरीतर्फ जाँदै गरेको रोलरमा प्र.१–०२–०४३ प ३३१५ नम्बरको मोटरसाइकल ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकलमा सवार इटहरी उपमहानगरपालिका–१९ तरहरा बस्ने ३८ वर्षीय सुरेश राईको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको विराट नर्सिंङ होम विराटनगर मोरङमा थप उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । हाल फरार रोलर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

यस्तै रोल्पाको त्रिवेणी गाउँपालिका–४ निगालपानीस्थित सडकमा ट्रकले किचेर एक जनाको मृत्यु भएको छ । दाङबाट रोल्पाको लिङ्दुङतर्फ आउँदै गरेको रा.१ ख ३२२२ नम्बरको ट्रकले किचेर सोही नगरपालिका–३ छाप बस्ने ३२ वर्षीय गोपीलाल वलीको मृत्यु भएको हो । ट्रकले किचेर गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

यस्तै मोरङको सुनवर्षी नगरपालिका–८ विश्वकर्मा चोकस्थित सडकमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । को.१ त ६१९१ नम्बरको ट्याक्टरमा प्रदेश.१–०२–०४५ प ९१६३ नम्बरको मोटरसाइकल ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक रतुवामाई नगरपालिका–३ चौकी घाट बस्ने ४३ वर्षीय ढक्कुलाल गनगाईको मृत्यु भएको हो । बिहीबार राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको नोबेल अस्पताल विराटनगरमा थप उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै रूकुम पश्चिम, आठबिसकोट नगरपालिका–४ गोतामकोटस्थित सडकमा अन टेष्ट लेखिएको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका–५ बस्ने कल्पना विककी छोरी ५ वर्षीया धन कुमारी विकको मृत्यु भएको छ । मोटरसाइकलले बिहीबार दिउँसो ठक्कर दिँदा गम्भीर घाइते भएकी उनको मेडिकल कलेज कोहलपुर बाँकेमा थप उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।

प्रकाशित मिति: शुक्रबार, असार १३, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update