Shittalpati
आज मगर जातिको भूमे पर्व

पाल्पा, मगर जातिले आज आफनो मुख्य भूमे पर्व मनाउँदै छन् । मगर जातिले परापूर्वकालदेखि आफू बसेको ठाउँको भूमि र भूमि देवतालाई पूजा गर्ने चलन रहि आएको छ । भूमि बिना कुनै पनि जीवको अस्तित्वको कल्पना गर्न नसकिने र भूमि नै जीवनदाता भएको मान्यता राख्दै मगर समुदायले यो पर्व मनाउने गर्दछन् ।

असारमा रोपाई सुरु गर्नु अगावै पञ्चत्व स्वरूपमा भूमिको पूजन गर्ने चलन छ । देभभरिका सबै जिल्लाहरूमा भूमि पूजा गर्ने आ–आफनो चलन छ । पुर्खाले ज·ल खोस्रेर खेतीपाती गर्न थालेदेखि नै यो पर्व मनाउन थालिएको इतिहास छ । भूमि पूजाको अवसरमा देवतालाई बलि दिने, देवस्थानहरूमा गएर नाचगान गर्ने र थकाइ मार्ने परम्परा रहिआएको छ । मगर समुदायले यो पर्वलाई नयाँ वर्षका रूपमा समेत मनाउने गरेका छन् । मगर समुदायको भावना, पहिचान र एकतासँग जोडिएको हुँदा यो मगरहरूको मुख्य चाड हो । मगर जातिको यो पर्वका अवसरमा लुम्बिनी प्रदेश सरकारले सम्बन्धित समुदायलाई  सार्वजनिक विदा समेत दिने गर्दछ । भूमे पर्वमा टाढा–टाढा गएका दाजुभाइसमेत घरमा जम्मा भई रमाइलो गर्ने परम्परा रहेको छ । मगर समुदायको भूमे पर्वमा विभिन्न पाँच प्रकारको बाजा बजाएर महिला, पुरुष, बालबालिका नाचेर यो पर्व मनाउने गर्छन् । यस पर्वलाई नयाँ कामको सुरुवात गर्ने दिन, वर्षभरिको कामको योजना बनाउने दिनका रूपमा पनि लिने गरिन्छ । मगर समुदायको बाहुल्य रहेका क्षेत्रमा विशेष गरी यो पर्व मनाउने गर्छन् । भूमे पर्वमा सबै मगर सँगै भेला भएर रमाइलो गर्दा आफूहरूको दुःख, पीर बिर्सने र मन खुसी हुने विश्वास छ । यस्तै मगर जातिले पृथ्वी अर्थात् भूमिलाई आफनो मुख्य देवताका रूपमा मानेर पुज्ने चलन छ । भूमिको पूजा भएपछि देवता खुसी हुने र त्यसपछि अनिकाल नलाग्ने, पृथ्वीमा कुनै पनि प्रलय नआउने र दुःखको नास भई पृथ्वीबासी सबैमा खुसी आउने जनविश्वास छ ।

प्रकाशित मिति: बुधबार, असार ११, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update