Shittalpati
कृषि सामग्री ढुवानी गर्न किसानलाई ठेलागाडा सहयोग

रामपुर (पाल्पा), कृषि सामग्री ओसारपसारका लागि किसानलाई ठेला गाडा वितरण गरिएको छ । रामपुर नगरपालिका– ६ नम्बर वडा कार्यालयले कृषि प्रवद्र्धन तथा किसान सम्मान कार्यक्रम अन्तरगत वडाभित्रका कृषि तथा पशुपालक किसानलाई ठेला गाडा उपलब्ध गराएको छ । 

वडाका ७५ जना किसानलाई शत प्रतिशत अनुदानमा ठेलागाडा वितरण गरिएको वडाध्यक्ष दिवाकर देवकोटाले जानकारी दिए । किसानलाई कृषि उत्पादन, मल बीउ, दाना, पराल ओसारपसारका लागि कृषि औजारको रुपमा ठेलागाडा वितरण गरिएको वडाध्यक्ष देवकोटा बताउन्छन् । वडा कार्यालयले विजयपुर कृषि सहकारी संस्थाको समन्वयमा कार्यक्रम गरी ठेलागाडा वितरण गरेको हो । नगर प्रमुख रमणबहादुर थापाले स–साना अनुदानका कार्यक्रम भन्दा अब बीउबिजन उत्पादन र स्वरोजगारका कार्यक्रमलाई अगाडि बढाइने बताए । यसैबीच, रामपुरका संस्थागत विद्यालयका विद्यार्थीलाई निःशुल्क चश्मा वितरण गरिएको छ । कालीगण्डकी आँखा उपचार तथा सर्जिकल सेन्टरले रामपुर नगरपालिका र सेवा फाउण्डेशनको आर्थिक सहयोगमा संस्थागत विद्यालयका विद्यार्थीलाई चस्मा वितरण गरेको हो ।

रामपुर अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालय र भूपु सैनिक राईजिङ इङलिस बोर्डिङ स्कूलका एक सय १८ जना विद्यार्थीलाई निःशुल्क चस्मा वितरण गरिएको सर्जिकल सेन्टरका व्यवस्थापक सुन्दर रानाले जानकारी दिए । सामुदायिक विद्यालयका लागि विभिन्न सरकारी बजेट आए पनि संस्थागत विद्यालयका लागि नआउने भएकाले विद्यार्थीको स्वास्थ्य सुविधालाई दृष्टिगत गर्दै निःशुल्क आँखा जाँच तथा चस्मा वितरण गरिएको नगर प्रमुख रमणबहादुर थापाले बताए । 

प्रकाशित मिति: बिहीबार, असार ५, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update