
पाल्पा, आज जुन १९ अर्थात् द्वन्द्वमा यौन हिंसा उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवस । यो दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदै छ । २०१५ जुन १९ मासंयुक्त राष्ट्र संघको महासभाले प्रत्येक वर्षको जुन १९ लाई द्वन्द्वमा हुने यौन हिंसाको उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवस मनाउने घोषणा गरेको थियो ।
द्वन्द्वसम्बन्धी यौन हिंसा, विश्वभर यौन हिंसाबाट पीडित र बाँचेकाहरुलाई सम्मान गर्न, अपराध उन्मूलनका लागि उभिन, र जीवन समर्पण तथा गुमाएका सबैलाई श्रद्धाञ्जली अर्पण गर्न यो दिवस मनाइन्छ । यौन हिंसामा पर्नेहरुका वेदनाको सम्बोधन अनि अधिकारको प्रत्याभूत गर्दै विश्वसमक्ष उनीहरूको आवाज सुनाउनलाई हरेक वर्ष संयुक्त राष्ट्रसंघले द्वन्द्वमा यौन हिंसाको उन्मुलनको लागि अन्तर्राष्ट्रिय दिवस मनाउने गर्दछ । नेपालमा पनि शान्ति निर्माण प्रक्रिया सुरु भएको १८ वर्ष पुग्न लाग्दा पनि सशस्त्र द्वन्द्वको समयमा भएका गम्भीर मानव अधिकार उल्लंघनका सवालहरू, महिलामाथि भएका यौन अपराध जस्ता सवालहरू सम्बोधन हुन सकेका छैनन् । ‘द्वन्द्वसम्बन्धी यौन हिंसा’ शब्दले बलात्कार, यौन दासत्व, जबरजस्ती वेश्यावृत्ति, गर्भावस्था, गर्भपतन वा नसबन्दी, विवाह, महिला, पुरुष वा बालबालिकाविरुद्ध हुने सबै प्रकारका हिंसा द्वन्द्वसम्बन्धी यौन हिंसा हुन् । जुन द्वन्द्वसँग प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा जोडिएका हुन्छन् । यसले यौन हिंसा वा शोषणको उद्देश्यका लागि द्वन्द्वको अवस्थामा प्रतिबद्ध हुँदा व्यक्तिहरूको बेचबिखनलाई समेत समेट्ने गरेको छ । नेपालको स्थितिमा द्वन्द्वका समयमा यौन हिंसामा पर्नेहरूका कुरा सम्बोधन, अधिकारको प्रत्याभूति अहिलेसम्म सरकारले गर्न सकेको छैन । यस्ता पीडितलाई अहिलेसम्म सरकारले कुनै पनि किसिमको क्षतिपूर्ति पनि दिन सकेको छैन ।