Shittalpati
रामपुरका विद्यार्थीहरुलाई निःशुल्क चस्मा

पाल्पा, जिल्लाको रामपुर नगरपालिकाभित्र रहेका आवासीय विद्यालयका विद्यार्थीहरुलाई निःशूल्क चस्मा वितरण गरिएको छ । कालिगण्डकी आँखा उपचार तथा सर्जिकल सेन्टर रामपुरले रामपुर नगरपालिका र सेवा फाउण्डेशनको आर्थिक सहयोगमा निःशुल्क चस्मा वितरण गरेको हो ।

नीजि विद्यालयमा अध्ययनरत  दृष्टि दोष भएका विद्यार्थीहरुलाई निःशुल्क चस्मा वितरण गरिएको छ । विद्यार्थीहरुलाई चस्मा वितरण गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले संस्थागत विद्यालयहरुमा सहयोग गर्नु पर्छ भन्ने उद्देश्यले यहाँका विद्यार्थीहरुको आँखा स्वास्थ्यका लागि यो कार्यक्रम गरेको बताए । सामुदायिक विद्यालयका लागि विभिन्न सरकारी बजेट आए पनि संस्थागत विद्यालयका लागि नआउने भएकाले विद्यार्थीहरुको स्वास्थ्य सुविधका लागि निःशुल्क आँखा जाँच तथा चस्मा वितरण गरिएको उनको भनाई छ । नगर प्रमुख थापाले विद्यार्थीहरुको आँखा स्वास्थ्य र दृष्टि जोगाउनका लागि यो कार्यक्रम महत्वपूर्ण रहेको बताए । मानिसको सबै भन्दा संवेदनशिल अ· आँखा भएकाले यसको सुरक्षा र हेरचाहमा ध्यान दिन विद्यार्थीहरुलाई उनले आग्रह समेत गरे ।

कालिगण्डकी आँखा उपचार तथा सर्जिकल सेन्टर सहयोग समितिका सदस्य दुर्गा प्रसाद भट्टराईले विद्यालय आँखा जाँच कार्यक्रम अन्तर्गत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको आँखा जाँच गरि चस्मा वितरण गरिएको बताए । यस्तै सर्जिकल सेन्टरका व्यवस्थापक सुन्दर रानाले बालबालिका तथा विद्यार्थीहरुको आँखाको ज्योति बचाउन र स्वास्थ्यका लागि विद्यालयमै पुगेर आँखा जाँच गरिएको बताए । कार्यक्रममा रामपुर अंग्रेजी आवासिय माध्यमिक विद्यालय र भूपू सैनिक राईजिङ ईङ्गलिस बोर्डिङ स्कुलका १ सय १८ जना विद्यार्थीहरुलाई निःशुल्क चस्मा वितरण गरिएको हो । उनीहरुको बैशाख २१ गतेदेखि २८ गतेसम्म विद्यालयमै पुगेर आँखा जाँच गरिएको र दृष्टि दोष भएका विद्यार्थीहरुलाई चस्मा वितरण गरेको सर्जिकल सेन्टरले जनाएको छ । कालिगण्डकी आँखा उपचार तथा सर्जिकल सेन्टर सहयोग समितिका सदस्य दुर्गा प्रसाद भट्टराईको अध्यक्षता, सदस्य कृष्ण प्रसाद पौडेलको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: बुधबार, असार ४, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update