
पाल्पा (रामपुर), जिल्लाको रामपुरमा जेष्ठ नागरिकको भेला भएको छ । रामपुर नगरपालिकाको आयोजनामा लक्ष्मीनारायण मन्दिर रामघाटमा भेला भएको हो ।
जेष्ठ नागरिकको योगदानको कदरसँगै उनीहरुलाई समाजमा सम्मानजनक रुपमा बाँच्ने वातावरण सिर्जना गर्ने उद्देश्यले नगरपालिकाले जेष्ठ नागरिकलाई भेला गराइएको जनाएको छ । नगरपालिकाले भेलामा सहभागी जेष्ठ नागरिकहरुलाई कानूनी सचेतना प्रदान गर्नुका साथै स्वास्थ्य परीक्षण र दोसला ओढाई सम्मान गरेको छ । उनीहरुलाई नगर प्रमुख रमणबहादुर थापाले सम्मान गरेका हुन् । सम्मान गर्दै उनले जेष्ठ नागरिक जिउँदो भगवानको स्वरुप रहेकाले उनीहरुको मार्गदर्शनले मात्र समाजले गति लिने भएकाले जेष्ठ नागरिकको सम्मान गर्नुपर्ने बताए । उनले भने “जेष्ठ नागरिकको उचित हेरचाह र सम्मान गर्नु हामी सबैको दायित्व रहेको हो, संस्कार र संस्कृति नयाँ पुस्तामा हस्तान्तरण हुन नसक्दा सामाजिक संरचना नै कमजोर हुँदै गएको छ, यसका लागि नगरपालिकाले ‘जेष्ठ नागरिक स्कुल’ सञ्चालनको तयारी गरिरहेको छ ।” स्कूलमा बालबालिकालाई संस्कार, संस्कृति तथा परम्परागत सिप हस्तान्तरण गरिनुका साथै जेष्ठ नागरिकहरुलाई भजनकृतन, अध्ययन र सामाजिक मेलमिलापका लागि अनुकूल वातावरण सिर्जना गरिनेछ । स्कुल सञ्चालनका लागि नगरपालिकाले बस समेत खरिद गरिसकेको र सडक पूर्वाधार निर्माणसँगै आवश्यक व्यवस्थापनकरुो कार्य पश्चात छिट्टै सञ्चालन गरिने नगर थापाले बताए । उपप्रमुख बालकुमारी थापाले जेष्ठ नागरिकहरुको सेवा गर्नु र सम्मान गर्नु छोराछोरी मात्र नभइ हामी सबैको दायित्व रहेको बताइन् । कार्यक्रममा रामपुर नगरपालिकाका प्रवक्ता कपिल बहादुर खाँणले नगरपालिकाद्वारा सञ्चालित विभिन्न कार्यक्रम र योजनाबारे जानकारी दिए । नगरपालिकाले बालबालिका, युवादेखि जेष्ठ नागरिक सम्म लक्षित गरेर आफ्नो कार्यक्रम सञ्चालन गर्दै आएको उनको भनाई छ । जेष्ठ नागरिक मञ्चका अध्यक्ष देवराज ढकालले जेष्ठ नागरिकका हक अधिकारका पक्षमा मञ्चले निरन्तर आवाज उठाउँदै आएको बताए । जिल्ला सदस्य केशवराज पंगेनीले जेष्ठ नागरिकहरुलाई एकताबद्ध भएर लाग्न आग्रह गरे । लक्ष्मी नारायण मन्दिर सञ्चालन समितिका अध्यक्ष बुद्धि प्रकाश रेग्मीले स्कुल सञ्चालनका लागि मन्दिरले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा नगर भित्रका जेष्ठ नागरिकहरुलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो ।
नगरपालिकाका स्वस्थ्यकर्मीहरुको उपस्थितिमा स्वास्थ्य जाँच तथा परामर्श सेवा समेत प्रदान गरिएको थियो । जेष्ठ नागरिकहरुको लागि राज्यले प्रदान गरेको सुविधा, अधिकारको विषयमा नगरपालिका प्रशासन अधिकृत युवराज पन्थीले जानकारी गराए । यस्तै भेला जेष्ठ नागरिक संघ रामपुर नगर अध्यक्षमा कृष्णप्रसाद अर्याललाई चयन गरेको छ । जसको उपाध्यक्षमा कृष्णप्रसाद भट्टराई र लक्ष्मण भण्डारी, सचिवमा तिर्थप्रसाद ढुङ्गाना, सहसचिवमा हरिप्रसाद आचार्य, कोषाध्यक्षमा सीता राना, सदस्यहरूमा यज्ञमूर्ति घिमिरे र मकबुल मियाँ रहेका छन् । नगर प्रमुख रमणबहादुर थापाको अध्यक्षता, उपप्रमुख बालकुमारी थापाको स्वागत र महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख पुजा परियारको सञ्चालनमा कार्यक्रम भएको थियो ।